दैलेख – बालविवाह, लागू औषध, आत्महत्या रोकथाम कसरी गर्ने ? यी मुद्दामा परेका बालबालिकाहरुलाई अभिभावकले छुटाएर लैजान्छौं भन्नेहरु धेरै छन् कि कानून कारवाही गर्नुस् भन्ने धेरै आउछन् ? उनीहरुलाई कानूनी प्रक्रिया के छ ? सजाय पाएका बालबालिकाहरु सुध्रिए वा नसुध्रिएको प्रहरीले कसरी जानकारी लिन्छ ?
यी प्रशन त्रिभुवन मावि दैलेखबजारका कक्षा ११ मा व्यवस्थापन विषय पढ्दै गरेका विद्यार्थी हिजाे दिउँसाे जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यालयका इञ्चार्ज प्रमुख डीएसपी गणेशबहादुर बराल र प्रहरी निरीक्षक लक्ष्मण पचभैयासंग भेटेर राखेका प्रश्नहरु हुन् । विद्यार्थीहरुका प्रश्न बारे डीएसपी बरालले सविस्तार व्याख्या सहित उत्तर दिनुभयो ।
कक्षा ११ को नेपाली विषयमा अपराध रोकथाम र सामाजिक दायित्व विषयलाई प्रयोगात्मक अभ्यास अन्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखमा अवलोकन गराइएको विद्यालयका शिक्षक भक्तबहादुर थापाले बताउनुभयो । सैद्धान्तिक व्याख्या भन्दा प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरुलाई त्यहाँ लिइएको उहाँले प्रष्ट्याउनुभयो ।
विद्यार्थीहरुलाई सूचना प्रविधिको प्रयोगमा आएको जोखिम, यसको उपयोगिताको फाइदा र दुरुपयोगले हुने नोक्सानीसंगै साइवर अपराध कानून, लागु औषध दुव्र्यसनीले पार्ने असरसंगै कानूनी व्यवस्था बारे जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यालयका इञ्चार्ज प्रमुख डीएसपी गणेशबहादुर बरालले अभिमुखीकरण गर्नुभएको थियो ।
प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले प्रहरीले गर्ने शान्ति-सुरक्षा व्यवस्थापन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, अपराध अनुसन्धान शाखा लगायतबाट दिइने सेवा बारे जानकारीसंगै विद्यार्थीहरुलाई हिरासत कक्ष समेत अवलोकन गराउनुभएको थियो । विद्यार्थीहरु ती शाखामा पुग्दा काम सम्पादन पद्धति बारे चासो राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेख अवलोकनमा पुगेकी विद्यार्थी संगीता बुढाले भन्नुभयो ‘प्रहरीले साँच्चै हाम्रै सुरक्षाको लागि काम गरेको रहेछ भन्ने थाहा भएको र यसले प्रहरीप्रति आफूहरुको विश्वास भरोसा बढेको छ ।’ अर्का विद्यार्थी युवक थापाले समुदायमा अपराध रोकथाममा प्रहरी र विद्यार्थीवीच सहकार्य भूमिका बढ्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्