दैलेख – ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्वर्द्धन’ नारा सहित यो वर्षको अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । पञ्चकोशी अपांगता विकास मञ्चले दैलेखका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दियो । नारायण नगरपालिकाले भूर्तीस्थित सुस्तश्रवण श्रोत कक्षाका बालबालिकालाई हिउँदकाे जाडाेबाट जाेगाउन न्यानो कपडा वितरण गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पञ्चकोशी अपाङ्गता विकास मञ्चले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा आयोजना गरेको एक औपचारिक कार्यक्रममा अध्यक्ष कमल खड्काले दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुलाई अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा, अधिकार र आत्मसम्मान विषयमा सरोकारवाला निकायसंग समन्वय विषयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र ग्रहण गरेपछि प्रमुख जिल्ला अधिकारी सारुले अपाङ्गता भएका व्यक्तिलाई यातायात भाडामा दिइने सहुलियत, स्थानीय सरकारले दिने सेवासुविधाहरुमा बढोत्तरी गर्ने विषय र आत्मसम्मानको विषयमा आफूले पहल गर्ने बचन दिनुभयो । पञ्चकोशी अपाङ्गता विकास मञ्चकाले ज्ञापनपत्र बुझाउन आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, गैसस महासंघका अध्यक्ष दिलकुमारी चन्द लगायतका नागरिक अगुवाहरुको सहभागिता थियो ।
त्यसैगरी दिवसकै अवसरमा नारायण नगरपालिकाले रेडक्रस मावि भूर्तीस्थित सुस्तश्रवण श्रोत कक्षाका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सारु, नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी लगायतको उपस्थित थियो । त्यहाँ अध्ययनरत ६ जना बालबालिकालाई एकएक वटा जकेट दिइएको नारायण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बुढाले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्