दैलेख – स्वस्थ समुदाय, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको योगदान नारा सहित २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाइएको छ । नारायण नगरपालिका, स्वास्थ्य सेवा कार्यालय, एभरेष्ट क्लव, सीएमसी, सोसेक लगायतको साझेदारीमा शुक्रबार महिला स्वास्थ्य स्वयमसेविका दिवस तथा ज्येष्ठ नागरिकसंग नगरप्रमुख कार्यक्रम गरिएको हो ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले सामाजिक चेतना स्तर उठाउन महत्वपूर्ण योगदान गरेर गुन लगाएका महिला स्वास्थ्य स्वयमसेविका र ज्येष्ठ नागरिकहरुलाई एकै स्थानमा सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । उपमेयर तप्ताकुमारी थापाले लैंगिक हिंसा रोकथाम र मातृशिशु स्याहारमा समेत महिला स्वास्थ्यकर्मीको योगदानको रहेको चर्चा गर्नुभयो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख मनोज बिश्वकर्माले सरकार स्वास्थ्य सेवा कार्यक्रमहरु, सचेतना अभियानमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले पुर्याएको सहयोगले स्वास्थ्य सेवा प्रभावकारी भएका, मातृ मृत्यूदर र शिशु स्याहारमा आएको सुधार आएको योगदानलाई राज्यले सम्झेको छ तर राज्यले दिनुपर्ने जति सम्मान र श्रोत धेरै कमी रहेको बताउनुभयो ।
२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा नारायण नगरपालिकाका क्षेत्रमा काम गर्दै आउनुभएका तर उमेरले ६० वर्ष पार गर्नुभएका तीन जना महिला स्वास्थ्य स्वयमसेविका वडा नं. १ की बिष्णु बिशुन्के, वडा नं. ६ की कृष्ण रेग्मी र वडा नं. ८ की नैनसरा रावललाई सम्मानपत्र र जनही नगद २० हजार दिइएको थियो ।











प्रतिक्रिया दिनुहोस्