२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

सासु भत्ता पहुँच सुनिश्चित नगरपालिका घोषणा



दैलेख – नारायण नगरपालिका नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा पूर्ण पहुँच सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नारायण नगरपालिका सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता घोषित पहिलो पालिका हो । नारायण नगरपालिकाले एक वर्ष अघि कार्यपालिकाबाट ‘सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति २०८१’ तथा ‘सामाजिक सुरक्षा सुरक्षा वितरणमा सबैको पहुँच सुनिश्चितता गर्न बनेको आधारभूती कार्यविधि २०८१’ पारित गरी आधार तयार पारेकाे थियाे ।

नीति र कार्यविधि अनुसार नारायण नगरपालिकाका ११ वटै वडा कार्यालयहरुले योग्य लाभग्राहीको खोजपड्ताल, सुविधा उपलब्ध गराउन आवश्यक पर्ने कागजी प्रक्रिया सहजीकरणदेखि सामाजिक सुरक्षा भत्ताको लागि प्रमाणिकरण समेत गर्ने गरी आधार तयार गरिएको थियो । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बुधबार एक समारोहबीच सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता नगरपालिका घोषणा गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकहरुको आत्मसम्मान र पारिवारिक माया बढेको बताउदै सामाजिक सुरक्षा भत्तामा वितरण गरिएको रकम सदुपयोग भए नभएको अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले पहाडी क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाकाे अभावमा सहरमा बसाईसराई र गाउँमा सामाजिक सुरक्षा भत्ताकाे नवीकरण गर्न लाभग्राहीलाई खर्चिलो भएको दृष्टान्त व्याख्या गर्नुभयाे । मन्त्री भण्डारीले जनप्रतिनिधि र कर्मचारीहरुले सेवा प्रवाहमा जिम्मेवार हुन आग्रह गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सामाजिक सुरक्षा भत्ता अनियमितता बढ्न थालेपछि सरकारले बैंकिग प्रणालीबाट भुक्तानी गर्न थालिएपछि दुरुपयोग रोकिएको बताउनुयो । उहाँले ग्रामीण बस्तीका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताबाट ठूलो लाभ र राहत महसुश गरेका सुनाउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बीरबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले सामाजिक सुरक्षा भत्ता सुनिश्चितता निरन्तरतामा ख्याल राख्न सुझाव दिनुभयाे ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाहीले सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता घोषणा महत्व र यसको निरन्तरता गरिएको लगाव विषयमा प्रकाश पानुभएको थियो । सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेष्ट क्लव दैलेखद्वारा सञ्चालित ‘पहुँच परियोजना’काे प्राविधिक र सहजीकरण सहयाेगमा नारायण नगरपालिकाले आफ्नो नीति, श्रोत र सक्रियतामा सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता नगरपालिका घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार