२०८२ मंसिर २२ , सोमबार (2025 Dec 8, Monday)

उद्योग दिवस : उद्यम प्रवद्र्धनको चासो



धारणा राख्दै उद्यमी शेरबहादुर बाेगटी

दैलेख – उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले उद्यम प्रवद्र्धन विषयमा बृहत अन्तरक्रिया कार्यक्रम गरी ११ औं राष्ट्रिय उद्योग दिवस मनाएको छ । जिल्ला स्तरीय उद्योग विकास समितिका पदाधिकारी, सरोकारवाला र अगुवा उद्यमीहरुको सहभागितामा मंगलबार जिल्दा सदरमुकाममा दिवस मनाइएको हो ।

राष्ट्रिय बाणिज्य बैंक दैलेखका प्रवन्धक कृष्णप्रसाद उपाध्यायले व्यापारको सम्भावना विश्लेषण, व्यसायिक योजना, उद्यमीहरुका लागि बैंकिङ क्षेत्रको लगानी प्राथमिकता, लिइएको ऋणको उचित सदुपयोग, व्यवसायिक लगनशीलता र इमान्दारिताको महत्व बारे प्रकाश पार्नुभयो ।

प्रवन्धक उपाध्यायले राष्ट्रिय उद्योग दिवस र उद्यमीको लगानी विषयमा कार्यपत्र प्रस्तूत गर्दै उहाँले सो धारणा राख्नुभएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर थापाले उद्यमशीलता प्रवद्र्धनमा गरिरहेका काम र प्रभाव बारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा जिसस प्रमुख नमराज शाहीले वास्तविक उद्यमीसम्म राज्यको श्रोत र लगानी पुर्‍याउन आग्रह गर्नुभयो । नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजाल, महिला नेतृ दुर्गा श्रेष्ठ, दलित अधिकारकर्मी पदम सुनारले उद्यमीहरुको श्रोतमा पहुँच अभिवृद्धि गर्न प्रक्रियाहरु सरल बनाइनुपर्ने सुझाव दिनुभयो ।

लघु उद्योग महासंघका अध्यक्ष टिकादेवी जैसी, हिमाली सिस्नो प्रशोधन उद्योगका सञ्चालक शेरबहादुर बोगटी, भादगाउले टोपी प्रवद्र्धक बिन्दकला शाही, इण्टरलक इट्टा उद्योगका नगेन्द्र खड्का, सिलाई व्यवसायी मनोज नेपाली लगायतले उद्योग प्रवद्र्धन सरकारी निकाय र उद्यमीहरुकाे सहकार्य विषयमा धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार