रसुवा – चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीले रसुवाका नदी किनारका बजार र बस्तीमा ठूलो क्षति पुर्याएको छ । बाढीले भन्सार, अध्यागमन, सडक, पुल, जलविद्युत् आयोजना तथा विभिन्न सरकारी कार्यालयका संरचनामा क्षति पुर्याएको छ ।
बाढीका कारण रसुवागढीस्थित टिमुरे, स्याफ्रुबेशी, मैलुङ, पैरेबेशी र शान्तिबजार तथा नुवाकोटसँग जोडिएको बेत्रावती बजारलगायतका क्षेत्र प्रभावित भएका छन् । नदी किनारका सयौं घर, खेत तथा सवारीसाधन बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयाे ।
बाढीका कारण स्थानीय बासिन्दा तथा आगन्तुक पर्यटकसमेत सम्पर्कविहीन भएका छन् । नदी आसपासका बस्ती बगाएपछि स्थानीयबीच सम्पर्कसमेत विच्छेद भएको छ भने कतिपय सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयाे ।
उत्तरी तिब्बतको हिमालय क्षेत्रमा भएको अत्यधिक वर्षा वा हिमताल विस्फोटका कारण बाढी आएको हुनसक्ने अनुमान गरिए पनि यसको यकिन कारण खुल्न सकेको छैन । साँघुरो पहाडी भूभाग हुँदै बग्ने नदीमा एकैपटक आएको बाढीले उच्च स्थानमा रहेका घर तथा बस्तीसमेत प्रभावित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्