२०८३ वैशाख २५ , शुक्रबार (2026 May 8, Friday)

महोत्सवले कला सँस्कृति सम्बर्द्धनमा टेवा



दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले मेला महोत्सवले कला सँस्कृति सम्बर्द्धनमा टेवा पुगेको बताउनुभएको छ । वैशाख ७ गतेदेखि चलेको १८ दिन लामो दैलेख महोत्सव समापन कार्यक्रममा बोल्दै मेयर शर्माले केही कमजोरी रहे पनि महोत्सवले जिल्ला सदरमुकाम दैलेख बजारमा व्यापार व्यवसाय चलायमान बनाएको बताउनुभयो ।

दैलेख उद्योग बाणिज्य संघले बैशाख ७ गतेदेखि १९ गतेसम्मका लागि अनुमति लिएर थप ५ दिन पुनः स्वीकृती लिएर आज बिहीबार वैशाख २४ गतेसम्म चलेको दैलेख महोत्सवले दैलेखको प्रचारप्रसार भएको नेपाली कम्यूनिष्ट पार्टीका नेता मायाराम अधिकारीले सुनाउनुभयो । दैलेखका सबै राजनीतिक दलहरुका तर्फबाट बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मूल आधार भन्ने मूल नारा सहित कर्णाली प्रदेश स्तरीय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको रूपमा सञ्चालन गरिएको दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास तथा व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । कार्यक्रममा कमल बीसी माल्दाई, ज्योति मगर, एलिना चौहान, टिका सानु, इब्सल सञ्ज्याल लगायतका चर्चित कलाकारहरूले साँगितिक मनोरञ्जन दिनुभएको थियो ।

महोत्सव व्यवस्थापनको जिम्मा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले लिएको छ मेलामा ‘जलपरी’ लगायतका मनोरञ्जनात्मक आकर्षणहरू पनि समावेश गरिएको थियो । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा उद्यमशीलताको विकासमा टेवा पुगेको दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार