२०८३ जेठ २२ , शुक्रबार (2026 Jun 5, Friday)

सहायता कक्ष प्रभावकारी बनाउन समन्वय बैठक



दैलेख – नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सुर्खेतसँगको सहकार्यमा दैलेख उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको महिला उद्यमी सहायता कक्षलाई थप प्रभावकारी बनाउने उद्देश्यले समन्वय बैठक सम्पन्न भएको छ ।

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा व्यवसाय दर्ता तथा नवीकरणलाई व्यवस्थित र प्रभावकारी बनाउन संयुक्त पहल गर्ने, करदाता शिक्षा तथा व्यवसायिक जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा दैलेख उद्योग वाणिज्य संघ र नारायण नगरपालिकाबीच सहकार्यसम्बन्धी सम्झौता प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको जनाइएको छ।

बैठकमा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले महिलाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न, व्यवसाय सञ्चालनमा देखिएका चुनौती समाधान गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन यस्ता सहायता कक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

त्यसबखत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले महिला उद्यमी सहायता कक्षको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले दैलेख उद्योग वाणिज्य संघ र नगरपालिकाकाे लगावले मात्र कार्यक्रम प्रभावकारी हुने बताउनुभयाे ।

महिला उद्यमी सहायता कक्षमार्फत महिलालाई व्यवसाय दर्ता, कानुनी प्रक्रिया, करसम्बन्धी जानकारी, वित्तीय पहुँच तथा उद्यम विकासका विविध विषयमा परामर्श र सहजीकरण उपलब्ध गराउने लक्ष्य राखिएको दैलेख उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पवन कार्कीले  जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार