२०८३ असार २६ , शुक्रबार (2026 Jul 10, Friday)

दैलेखमा उत्कृष्ट कृषक र पत्रकार सम्मानित



सम्मान ग्रहण गर्दै बाख्रा पालक कृषक सन्तोष दर्लामी ।

दैलेख – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पौरखी कृषकहरुलाई अनुदान भन्दा सम्मानको खाँचो भएको बताउनुभएको छ । कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम’ मा उहाँले सो विचार राख्नुभएको हो ।

कार्यक्रममा मन्त्री शाहले कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय काम गरेका कृषकलाई दिइएको पुरस्कार तथा सम्मानले अरु कृषकहरुलाई उत्प्रेरणा हुने आशा व्यक्त गर्नुभयो । उहाँले समाजमा नकारात्मक भावनाले प्रश्रय पाएको अवस्था उल्लेख गर्दै सकारात्मक भावनाको विकास गर्न र सरकारले गरेका राम्रा कामको प्रचार गर्न पत्रकारहरुसंग आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले कृषिमा प्रविधिको प्रयोग गरेर पनि आशातित उत्पादन नबढेको टिप्पणी गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले अति विपन्नलाई अनुदान र राम्रो गरिरहेकाहरुलाई सम्मान दिने नीति बनाइनुपर्ने बताउनुभयो ।

कृषि विकास कार्यालयतर्फ उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत गुराँस गाउँपालिका–१ का सुन्तला व्यवसायी कर्णबहादुर खड्का प्रथम, नारायण नगरपालिका–२ का तरकारी व्यवसायी रुककला थापा द्वितीय तथा गुराँस गाउँपालिका–१ का सुन्तला व्यवसायी भीमबहादुर रावत तृतीय हुनुभएको छ ।

यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालयतर्फ दुल्लु नगरपालिका–६ का लेयर्स कुखुरा पालक नन्दाकुमारी थापा प्रथम, नारायण नगरपालिका–११ का बाख्रा पालक गोपाल शाही द्वितीय तथा नौमुले गाउँपालिका–४ का बाख्रा पालक सन्तोष दर्लामी तृतीय हुनुभएको छ ।

सम्मान ग्रहण गर्दै सम्पादक सुनार

कृषि क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारलाई पनि सम्मान गरिएको थियो । कृषि विकास कार्यालयबाट पहरेदार अनलाइनका सम्पादक अमर सुनार लगायत अरु पत्रकारहरु यामराज कटुवाल, बिशाल सुनार, उदयराज अधिकारी, यामराज बिष्टलाई र पशु अस्पताल तथा पशु सेवा कार्यालयले विपेन्द्र कार्की, महेन्द्र सापकोटा, भीम सिजापती र कमल शर्मा पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार बिक, नेपाल पत्रकार महासंंघका अध्यक्ष कमल शर्मा, कृतिदेवल सहकारी संस्थाका अध्यक्ष दीपककुमार थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख प्रचण्ड खड्का क्षेत्री र स्वागत कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख टेकेन्द्र मुन्नीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार