२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

दैलेखमा रक्त सञ्चार केन्द्र सञ्चालन गरिंदै



दैलेख – विरामीहरुलाई रगत दिनुपर्ने अवस्थामा रक्तदाताबाट झिकेर रगत दिनुपर्नेलाई तत्कालै सञ्चार गराउने गरिएकोमा अब रक्त सञ्चार केन्द्रमा संकलन गरी आवश्यकता परेको बेला विरामीलाई दिन सकिने गरी नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले रक्त सञ्चार केन्द्र स्थापना सञ्चालन गर्न लागेको छ ।

२१ वर्ष अघि २०६० पुस १७ गतेदेखि सुरु भएको आपत्कालिन रक्त सञ्चार गरिंदएै आएकोमा आवश्यक सामग्री र उपकरण प्रवन्ध गरी रक्त सञ्चार केन्द्र भोलि कात्तिक ९ गते विहान उद्घाटनको तयारी रहेको नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति निरञ्जन खत्रीले जानकारी दिनुभयो ।

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति यामबहादुर कटुवालको संयोजकत्वमा १३ सदस्यीय रक्त सञ्चार केन्द्र समिति गठन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका डा. सुदीप खड्का, दिपक कार्की, टकबहादुर भण्डारी, रञ्जीता गिरी खड्का, नैना गुरुङ्ग, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालालाई सदस्यमा मनोनीत गरिएको छ ।

स्वयमसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष अमर सुनार, जेसिज जिल्ला अध्यक्ष प्रकाश बुढा, लायन्स क्लवका खमबहादुर थापा, नारायण नगरपालिका–८ का वडाध्यक्ष गोपाल बीसी, नेपाल रेडक्रसकर्मीहरु दिपक केसी, सुनिलकुमार शर्मा समेतलाई नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले सदस्य चयन गरेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार