दैलेख – दुल्लु नगरपालिकाका वडा नं. ११, १२ र १३ का ९० जना बालबालिकालाई छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री वितरण गरिएको छ । आवाज संस्थाले आयोजना गरेको कार्यक्रममा तीन वटै वडाका ३०-३० जना गरी ९० जना बालबालिकालाई हरेकलाई करिब चार हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको हो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यार्थीलाई झोला, विद्यालय पोशाक, जुत्ता, कपी, पेन, क्यालकुलेटर, ज्यामिति बक्स, सिसाकलम र सिसाकलम कटर गरी नौ प्रकारका शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
बालसुलभ केन्द्रका विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिसहित १६१ जनाको सहभागिता रहेको कार्यक्रममा दुल्लु नगरपालिकाकी उपप्रमुख बिना कार्कीको अध्यक्षता तथा नगरप्रमुख भरतप्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । वडा नं. ११, १२ र १३ का वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रिजालले आवाज संस्थाले बालअधिकार, शिक्षा र बालबालिकाको समग्र विकासमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख कार्कीले संस्थाले लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह रोकथाम तथा बालबालिकाको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यस्ता अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याइरहेको बताउनुभयो । कार्यक्रमका सहभागीहरुले आवाज संस्थाले समुदायमा गरेको योगदानको प्रशंसा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्