२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

गुनासो सुनुवाइले बढाएको सुरक्षा



दैलेख – अनिता ९ कक्षाकी विद्यार्थी हुन्, साथी रमेशसंगै विद्यालय आउजाउ गर्छिन् । रमेश अलि उट्पट्याङ स्वभावको छ । उसले विद्यालय वा बाटोमा जतिबेला भेट्यो अनितालाई टेडी, डल्ली भनेर जिस्काउँछ, कहिलेकाहीँ प्याट्ट हान्दिन्छ । रमेशको यो व्यवहारले अनितालाई अपमान बोध भएको हुन्छ ।

रमेशको व्यवहार बारे विद्यालयमा शिक्षिकासंग जनाउ गरेकी हुन्छिन तर सुनुवाइ हुदैन । घरमा आएर आमा भन्छिन् आमाले समेत पढ्न मन नलागेर साथीलाई गाल पारेकी भनेर हप्काई खान्छिन् । वाध्यतावस मनमै गुम्छ्याएर राखेको पीर पोख्न विद्यालयमा राखिएको गुनासो सुनुवाइ पेटिका समस्या समाधानको उपाय बन्यो ।

अनिताले आफूलाई जिस्काउने र अस्वभाविक तरिका छुने जस्ता व्यवहार बारे विद्यालयको गुनासो सुनुवाइ पेटिकामा लिखित उजुरी गरेपछि विद्यालयको प्रधानाध्यापकले पीडित, पीडक र गुनासो सुनुवाइ शिक्षिका समेतलाई संगै राखेर छलफलमा पीडकले माफी मागेर आफू सधैं मर्यादा गर्ने प्रतिवद्धता जनाएपछि अनिताले अब आफू सुरक्षित महशुस भएको र पढाइमा लगाव बढेको बताइन् ।

विद्यालयमा गुनासो सुनुवाइ प्रवद्र्धनको लागि देखाइएको सडक नाटकको दृश्य व्याख्या हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा यूनिसेफको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित गरेको व्यवहार परिवर्तन परियोजनाले यो बेला नारायण नगरपालिकाका ग्रामीण क्षेत्रका ५ वटा विद्यालय र जिल्ला सदरमुकाम खुला ठाउँमा समेत ६ स्थानमा नाटक प्रदर्शन गरिएको थियो ।

विद्यालयमा बालिकाहरुले लैङ्गिक हिसावले भोग्नु परेकाे विभेद, असमानता, महिनावारीको बेला पर्ने स्वास्थ्य समस्या अनि बालकहरु समेतलाई विद्यालय, घर र समुदायमा हुने दुव्र्यवहार बारे गुनासो गर्ने अनि गुनासो सुनुवाइ माध्यमबाट समस्या समाधानमा प्रेरित गर्न सडक नाटक गरिएको व्यवहार परिवर्तन परियोजनाका मनोविमर्शकर्ता पार्वती बीसीले बताउनुभयो ।

६ वटै स्थानमा सडक नाटकले दिएको सन्देश बारे दर्शकको धारणा जान्न र विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रलाई क्रियाशील गराउन विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका विषयमा अन्तरक्रिया गरिएको र दर्शकहरुले नाटकमा देखाए जस्तै सबै विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रलाई जिम्मेवार बनाउन विद्यालयहरुलाई सुझाव आएको परियोजना कार्यक्रम संयोजक श्रृष्टि बाठा मगरले जानकारी दिनुभयो ।

युवा अभियन्ताहरु सुनिता सोनी प्रधानाध्यापक, प्रतिमा थापा गुनासो सुन्ने शिक्षक, कृष्णाकला थापा विद्यालयको अर्को शिक्षक, आशिका बस्नेत बाल क्लवको अध्यक्ष, चकेचके विद्यार्थी भूमिकामा पुस्कर खड्का र गणेश थापा अनि पीडित बालिका अनिताको अभिनय भद्रा बस्तेतले गर्र्नुभएको थियो । सडक नाटकमा गुनासो सुनुवाइ प्रणाली सक्रिय गराउन बालअधिकार अभियन्ताको भूमिका रोशनी थापाले गर्नुभएको थियो ।

यूनिसेफको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित गरेको व्यवहार परिवर्तन परियोजनाले बाल अधिकार संरक्षण सम्वन्धी प्रवद्र्धनात्मक क्रियाकलापहरु सञ्चालन गरेको छ । दैलेखको नारायण नगरपालिका, सुर्खेतको चौकुने गाउँपालिका र गुर्भाकोट नगरपालिकामा कार्यक्षेत्र रहेको यो परियोजना सन् २०२५ को अप्रिलदेखि एक वर्षको लागि चलिरहेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार