२०८३ असार १३ , शनिबार (2026 Jun 27, Saturday)

लागू औषध राेकथाममा पहल  गर्दै भगवतीमाई



दैलेख — किशोरकिशोरीलाई लागू औषध दुर्व्यसन र बालविवाहजस्ता सामाजिक विकृतिबाट जोगाउने उद्देश्यले दैलेखको भगवतीमाई गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय लागूऔषध तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसरमा गाउँपालिकाको महिला, बालबालिका तथा समाज कल्याण इकाइको आयोजनामा भगवतीमाई–२ बेस्तडास्थित ज्वाला माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसन रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई लागू औषध दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो । विद्यार्थीहरूले निकै चासोका साथ कार्यक्रममा सहभागिता जनाउँदै लागू औषधबाट बच्ने उपाय तथा यसको कानुनी पक्षबारे समेत जानकारी लिएका थिए ।

कार्यक्रमका मुख्य प्रशिक्षक पत्रकार तीर्थ भण्डारीले लागू औषधले मानव शरीरको स्नायु प्रणाली, मिर्गौला, मुटुलगायत महत्वपूर्ण अङ्गमा दीर्घकालीन क्षति पुर्‍याउने बताउनुभयो । उहाँले लागू औषधले व्यक्तिको स्वास्थ्य मात्र होइन, सामाजिक, आर्थिक र पारिवारिक जीवनसमेत तहसनहस पार्ने भएकाले विद्यार्थीहरूले यस्ता कुलतबाट सधैँ टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले बालबालिका नै राष्ट्रको भविष्य भएकाले उनीहरूलाई कुलतबाट जोगाई सही मार्गमा अघि बढाउनु परिवार, विद्यालय र समाजको साझा दायित्व भएको बताउनुभयो । गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती पौडेलले दिवस औपचारिक रूपमा मनाउनुभन्दा पनि विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

बेस्तडा प्रहरी चौकीका इञ्चार्ज असई होमबहादुर खड्काले पछिल्लो समय लागू औषधको पहुँच गाउँसम्म विस्तार भइरहेकाले किशोर–किशोरीलाई समयमै सचेत गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले लागू औषध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै अभिभावक, विद्यालय, समुदाय र स्थानीय तहबीचको समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो ।

सोही अवसरमा सोसेक नेपालको पहलमा बालविवाहविरुद्ध जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो । नाटकमार्फत कम उमेरमा हुने विवाहले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक विकासमा पार्ने गम्भीर असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

सोसेक नेपालका सामाजिक परिचालक जय थापाले बालविवाहका कारण स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा दीर्घकालीन समस्या सिर्जना हुने भएकाले समुदायस्तरमै निरन्तर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको सुरक्षित भविष्य, अधिकार संरक्षण तथा सभ्य समाज निर्माणका लागि लागूऔषध दुर्व्यसन र बालविवाहविरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय परिसरमा आयोजित संयुक्त अभियानमा विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सामाजिक अभियन्ताको सहभागिता रहेको थियो । सहभागीहरूले लागू औषध दुर्व्यसन र बालविवाह जस्ता सामाजिक विकृति अन्त्यका लागि सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार