२०८३ असार २ , मंगलबार (2026 Jun 16, Tuesday)

भगवतीमाईका कर्मचारीलाई योग तालिम



​दैलेख – भागदौड र कार्य व्यस्तताले भरिएको आधुनिक जीवनशैलीमा मनको शान्ति र शरीरको तन्दुरुस्ती कसरी कायम राख्ने ? यसको सरल र अचुक उपाय हो योग‌ । यही मर्मलाई आत्मसात् गर्दै दैलेखको भगवतीमाई गाउँपालिकाले आफ्ना कर्मचारीहरूका लागि एक विशेष योग अभियानको थालनी गराएको छ ।

​नागरिक सेवामा खटिने कर्मचारीहरूमा सकारात्मक ऊर्जा भर्न र कार्य सम्पादन लाई अझ चुस्त बनाउन गाउँपालिकाले मङ्गलबार देखि ५ दिने योग तालिम सुरु गरेको हो । लामो भाषण, खादा-माला र औपचारिक उद्घाटनको तडक‌ भडक विना नै मङ्गलबार बिहान तालिम सुरु गरिएको थियो । औपचारिकता भन्दा सोझै काम र नतिजा लाई प्राथमिकता दिँदै सुरु भएको यस स्वास्थ्य यात्रामा गाउँपालिकाका ४० जना भन्दा बढी कर्मचारीहरू सक्रियताका साथ सहभागी भएका छन् ।

​आगामी असार ६ गते सम्म चल्ने तालिममा हरेक दिन बिहान  साढे ४ बजेदेखि २ दुई घण्टा निरन्तर योग र प्राणायामका कक्षा सञ्चालन हुने छन्, जसले कर्मचारीहरूलाई दिन भरिका लागि नयाँ उत्साह र ताजगी प्रदान गर्न थालेको छ ।

​तालिमको प्राविधिक तथा सैद्धान्तिक सत्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा. यादव प्रसाद उपाध्यायले डिजिटल (प्रिजेन्टेसन) मार्फत कर्मचारीहरू लाई विशेष प्रशिक्षण दिनुभएको थियो । सकारात्मक र नकारात्मक जीवनशैली कसरी उत्पन्न हुन्छ र त्यसका समस्या तथा समाधानका उपायहरू के-के हुन् भन्ने बारे उहाँले मसिनो गरी बुझाउनुभयो ।

​डा. उपाध्यायले भन्नुभयो: “योगले मानिस लाई शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ बनाउँछ। तर योग सँगै हामीले आफ्नो खान पान र दैनिक भोजनको बानीमा पनि सुधार ल्याउनु आवश्यक छ । योगले मानव जीवनमा शान्ति र विकास ल्याउने मात्र नभई तनाव व्यवस्थापन (स्ट्रेस म्यानेजमेन्ट) मा अचुक औषधिको काम गर्छ र शरीरलाई मन सँग जोड्छ ।”

​तालिमको उद्देश्य र यसको प्रभावकारिताका विषयमा बोल्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश थापाले बजेटको सही सदुपयोग र मानव स्वास्थ्यको संवेदनशीलता माथि जोड दिनुभयो । अनुत्पादक क्षेत्रमा बजेट खर्चिनु भन्दा नागरिक र कर्मचारीको हित हुने दीर्घकालीन परिणाम मुखी काममा स्थानीय सरकार लागेको उहाँको भनाइ थियो ।

​अध्यक्ष थापाले भन्नुभयो, नतिजा नआउने ठाउँमा फजुल खर्च गरेर फाल्नु भन्दा उपलब्धि हुने ठाउँमा लगानी गर्ने हाम्रो नीति हो । मानव स्वास्थ्य जस्तो अत्यन्तै महत्वपूर्ण क्षेत्रमा ध्यान दिँदै कर्मचारीहरू लाई कार्यक्षेत्रमा अझ बढी सक्रिय, ऊर्जावान् र स्वस्थ बनाउनका लागि हामीले यो प्रयास गरेका हौँ ।”

​स्वस्थ विचार र सकारात्मक सेवा प्रवाह आफैँ योगका ज्ञाता रहनुभएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले पालिकाको नागरिक आरोग्य सेवा केन्द्र शाखामा रहेको सीमित बजेट लाई कसरी अधिकतम सदुपयोग गर्ने भन्ने सोच बाट यो कार्यक्रम जन्मिएको बताउनुभयो । उहाँका अनुसार, भौतिक विकास जत्तिकै महत्वपूर्ण मानव मष्तिस्कको विकास र मानसिक शान्ति पनि हो ।

​प्रमुख प्रशासकीय अधिकृत केसीले योगको गहिरो महत्व बारे प्रकाश पार्दै भन्नुभयो, “कर्मचारीहरू लाई योग सिकाउँदा उनीहरूको शारीरिक र मानसिक स्वच्छता कायम हुन्छ । स्वस्थ मानिसले मात्र स्वस्थ र सकारात्मक ढङ्गले काम गर्न सक्छ । जनता‌ लाई सेवा दिँदा कर्मचारीको मन शान्त र विचार सकारात्मक हुन आवश्यक छ । मानिस लाई वास्तवमा चाहिएकै स्वस्थता हो, जुन केवल योग र प्राणायाम बाट मात्र सम्भव छ। स्वस्थ विचार, शरीर र कार्यशैलीले नै नागरिक सेवा लाई निरन्तर र प्रभावकारी बनाउन सक्छ ।”

​तालिममा प्रशिक्षण दिइरहनुभएका पतञ्जलि योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापाले योग लाई शारीरिक कसरतको रूपमा मात्र नलिन आग्रह गर्नुभयो । वि.सं. २०७१ सालदेखि दैलेखमा याेग अभ्यास गराइरहनुभएका थापाले स्थानीय सरकारहरूले योगको महत्व बुझ्न थालेकोमा खुशी व्यक्त गर्नुभयो ।

​प्रशिक्षक थापा भन्नुहुन्छ, “योग केवल शारीरिक व्यायाम होइन, यसले व्यक्ति लाई समाज र समाजलाई राष्ट्रसँग जोड्ने काम गर्छ । जब नागरिक र राष्ट्रका सेवकहरू स्वस्थ हुन्छन्, तब स्वास्थ्य उपचारमा हुने राज्यको ठूलो खर्च जोगिन्छ । योगले अन्ततः राज्यकै अर्थतन्त्रमा बचत ल्याउँछ ।”

बिहानीको स्वच्छ हावासँगै सुरु हुने यो योग साधना र डाक्टरको स्वास्थ्य परामर्शले भगवतीमाई गाउँपालिकाका कर्मचारीहरूमा मात्र होइन, उनीहरूले प्रवाह गर्ने सेवा मार्फत आम नागरिकमा समेत सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार