दैलेख – सोसेक नेपालको २९औँ वार्षिकोत्सव तथा साधारणसभा बिहीबार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । संस्थाको वार्षिकोत्सवका अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, पत्रकार, उत्कृष्ट विद्यार्थी, समुदाय, बालक्लब तथा परियोजनामा कार्यरत कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सोसेक नेपालका परियाेजना क्रियाकलापहरु सुव्यस्थित, पारदर्शी र जवाफदेही तरिकाले काम गरेकाे भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीले सामाजिक संस्था र समुदायबीचको सहकार्यले शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला सशक्तीकरण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले राज्यले मात्र सबै सामाजिक समस्या समाधान गर्न नसक्ने भएकाले गैरसरकारी संस्था, स्थानीय समुदाय र सरकारबीचको सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले समुदायको आवश्यकता पहिचान गरेर सञ्चालन गरिएका सामाजिक विकासका कार्यक्रमले स्थानीय नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले स्थानीय तह, समुदाय र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय कायम भएमा विकासका कार्यक्रम अझ प्रभावकारी र दिगो बन्ने धारणा राख्नुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सोसेक नेपालले राज्यका प्राथमिकता र समुदायका आवश्यकतालाई जोडेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यबाट विपन्न, जोखिममा रहेका तथा अवसरबाट वञ्चित समुदायसम्म सेवा पुर्याउन सहज हुने उल्लेख गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दले गैरसरकारी संस्थाले समुदायको आवश्यकता र समस्यालाई नजिकबाट बुझेर काम गरिरहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा क्रियाशील संस्थाहरूले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै समुदायको विश्वास कायम राख्नु सबै संस्थाको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले संस्थाले स्थापनाकालदेखि नै सामाजिक रूपान्तरण, बालअधिकार, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, जीविकोपार्जनलगायतका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले समुदायको सहभागिता र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनमा पनि आवश्यकतामा आधारित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
बालक्लब प्रतिनिधि हिमानी रिजालले बालबालिकालाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रमले आफूहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक विषयमा बोल्ने क्षमता विकास गरेको बताउनुभयो । उहाँले बालबालिकाको सहभागिता कार्यक्रममै सीमित नभई निर्णय प्रक्रियासम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
पत्रकारिता पुरस्कार खड्कालाई
वार्षिकोत्सवको अवसरमा सोसेक नेपालका संस्थापक हिरासिंह थापाले आफ्नी आमा बाटु थापाको स्मृतिमा स्थापना गर्नुभएको बाटु थापा पत्रकारिता पुरस्कार सुर्खेतका पत्रकार सुशील खड्कालाई प्रदान गरिएको छ । आमसञ्चार माध्यममार्फत लैंगिक हिंसा तथा सामाजिक विभेदविरुद्ध उल्लेखनीय ढंगले समाचार सम्प्रेषण गरेको भन्दै खड्कालाई १५ हजार रुपैयाँ नगद र प्रशंसापत्र प्रदान गरिएको हो ।
पत्रकारिता क्षेत्रमा सामाजिक मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको सोसेक नेपालले जनाएको छ । पत्रकार सुशील खड्का भिडियाेग्राफी, अनलाइन पाेर्टलमा समाचार लेख्ने व्यवसायिक पत्रकार हुनुहुन्छ । उहाँ अहिले नेपाल पत्रकार महासंघ सुर्खेत शाखाकाे उपाध्यक्षकाे जिम्मेवारीमा समेत हुनुहुन्छ ।
कक्षा १२ मा नेपाल प्रथम सापकोटालाई २० हजारको पुरस्कार
यसै वर्षदेखि सोसेक नेपालले आफ्नी तत्कालीन कोषाध्यक्ष संगीता रानाको स्मृतिमा उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने ‘संगीता राना समाजसेवा पुरस्कार’ पनि सुरु गरेको छ । करिब छ महिनाअघि सडक दुर्घटनामा ज्यान गुमाएकी रानाको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको पहिलो संस्करणअन्तर्गत दैलेखको नौमूले गाउँपालिका–३ द्वारीकी डिलकुमारी सापकोटालाई प्रदान गरिएको हो ।
२०८३ वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएकी सापकोटालाई २० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो । शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेकी सापकाेटालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको सोसेक नेपालले जनाएको छ । उहाँले सुर्खेतकाे इगरब्रिजबाट व्यवस्थापन संकायमा ३ दशमलव ९६ जीपीए अंक प्राप्त गर्नुभएकाे थियाे ।
समुदाय तथा कर्मचारी पनि सम्मानित
वार्षिकोत्सवको अवसरमा सोसेक नेपालका विभिन्न परियोजनाअन्तर्गत सामुदायिक क्रियाकलापमा उत्कृष्ट योगदान पुर्याउने समुदाय, समूह, बालक्लब, सहजकर्ता, उद्यमी तथा कर्मचारीलाई समेत सम्मानका लागि सिफारिस गरिएको थियो । सम्मानित तथा पुरस्कृत हुनेमा स्पोन्सरशिप फिल्ड परिचालक लक्ष्मीकुमारी ढकाल, सरसफाइ प्रवर्द्धक पवित्रा आचार्य, सामुदायिक सहजकर्ता भगवती भण्डारी, लेखा अधिकृत परसुराम चौधरी, लेखा अधिकृत भरत गिरी, सहजकर्ता पार्वतीकुमारी जैसी, खरिद तथा लेखा अधिकृत कृष्णा रावत, घरमै विद्यालय सहजकर्ता पवित्रा बि.क. तथा कार्यक्रम अधिकृत मञ्जुश्री चपाईं हुनुहुन्छ ।
यसैगरी वीरेन्द्रनगर–२ सुर्खेतकी उद्यमी चित्रा विश्वकर्मा, चामुण्डाबिन्द्रासैनी–८ दैलेखकी बालिका अभियन्ता हिमानी रिजाल, चामुण्डाबिन्द्रासैनी–६ दैलेखकी उद्यमी तथा बाख्रापालक पानसरा बोहरा, चामुण्डाबिन्द्रासैनी–५ दैलेखको छेलालग्ना आमा समूह, नलगाड–२ जाजरकोटको पातिपेरा काप्रापानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नलगाड–६ जाजरकोटको कैनापानी खालीगेरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, चामुण्डाबिन्द्रासैनी–६ दैलेखस्थित जयदेव माध्यमिक विद्यालयका स्टीम फाेकल टिचर तपेन्द्र रोकाया तथा चामुण्डाबिन्द्रासैनी दैलेखकी अगुवा कृषक शान्ता शाहीले उत्कृष्ट कामका लागि सम्मानपत्र पाउनुभयाे ।
त्यस्तै राउटे बालक्लबका अध्यक्ष नविन शाही, दुल्लु–४ का रूपान्तरण सहजकर्ता विमला बिसी, ठाटीकाँध–६ स्थित जन आधारभूत विद्यालयकी बालविकास सहजकर्ता उर्मिलाकुमारी रोकाया थापा, नलगाड–१० जाजरकोटका विपेगौडा रुँदा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव नवराज रावत, दुल्लु–८ स्थित बालेश्वर अपांगता स्वावलम्बन समूहका अपांगता भएका उद्यमी बमबहादुर मिजार र चाउली बिक तथा धुलेश्वर अपांगता स्वावलम्बन समूह, दुल्लु–८ की उद्यमी शुभद्राकुमारी उपाध्यायलाई सम्मानित गरिएको छ ।
त्यस्तै भैरवीकी महिला अधिकार रक्षक सञ्जालकी अध्यक्ष कुसुम बिक र भैरवीको बाशुधारा युवा क्लबकी धनकुमारी शाहीलाई पनि संस्थाका विभिन्न कार्यक्रम तथा परियोजनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मानपत्र दिइएकाे साेसेक नेपालका महासचिव ललिला भण्डारीले पहरेदारलाई जानकारी दिनुभयाे ।
सोसेक नेपालले समुदायसँग प्रत्यक्ष जोडिएका व्यक्ति, समूह र संस्थालाई सम्मान तथा पुरस्कारले स्थानीय आवश्यकता, समुदायको सहभागिता र सामाजिक न्यायकाे काममा थप प्रोत्साहित गरेकाे पुरस्कृतहरुले बताउनुभएकाे छ । वार्षिकोत्सव तथा साधारणसभाको अध्यक्षता सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यसमितिका सदस्य दुर्गा गिरीले गर्नुभएको थियो ।
२०५४ भदौ ११ गते दर्ता भएको सोसेक नेपालले प्रत्येक वर्ष भदौ ११ गते नै वार्षिकोत्सव तथा साधारणसभा गर्दै आएको छ । संस्थाले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा सामाजिक विकाससँग सम्बन्धित परियोजना सञ्चालन गर्दै आएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ मा नेपालभर सञ्चालन गरिएका २७ वटा परियोजनामा ३७ करोड ५६ लाख ८२ हजार १ सय १४ रुपैयाँ खर्च भएको विवरण अनुमोदन गरेको छ । परियाेजना क्रियाकलाप केलाउँदा बालअधिकार, शिक्षा, महिला तथा बालबालिका, अपांगता भएका व्यक्ति, जीविकोपार्जन, सामाजिक समावेशीकरण सवालसंगै खानेपानी तथा सरसफाइ लगायतका भाैतिक विकासमा समेत परियोजनामा साे रकम खर्च भएकाे साेसेकले प्रकाशन गरेकाे वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्