२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

समाचारमा आस्था नझल्कियोस् : मुख्यमन्त्री कँडेल



सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले समाचार लेख्दा आस्था नझल्काउन आग्रह गर्नुभएको छ । सोसेक नेपाल र पिपुल्स इननीडसंगको साझेदारीमा नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिले सुर्खेतमा पत्रकार महिलाका लागि आयोजना गरेको तीन दिने लैंगिक सम्वेदनशीलता तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले व्यवस्थाप्रति खतरा पैदा भएकोले सुशासनको पहल कदमीले आशा जगाउन सकिने गरी राज्य संयन्त्रले काम गर्नुपर्ने औल्याउनुभयो । फरक प्रसंगमा अधिकारमा लेखिएको कुरा सरकारले श्रोतको अभावले पूर्णता पाउन सकेको छैन, अहिले नै सबै अधिकारहरु उपलब्ध गराउन सकिने स्थिति पनि छैन उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुको न्यूनतम पारिश्रमिक पाउन नसकेको, सुरक्षाका चुनौतीहरु लगायतका धेरै समस्या छन् तर पत्रकारहरुको लेखनी क्षमताले नै पत्रकार सुरक्षा र आत्मनिर्भरता बढाउन सक्ने बताउनुभयो । महिला पत्रकारहरुलाई समस्यासंग जुध्न यो तालिमले सिकाउने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिका अध्यक्ष बिष्णु शर्माको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद उपाध्याय, प्रदेश उपाध्यक्ष अप्सरा बिष्ट, दैलेख शाखा अध्यक्ष अमर सुनार, सुर्खेत शाखा अध्यक्ष सुशील शर्मा, सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ समेतले बोल्नुभएको थियो ।

तस्विर : अमर सुनार 

लैंगिक सम्वेदनशीलता, खोजपत्रकारिताका सवालका विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र लेखक एवम् पत्रकारिता प्रशिक्षक मोहन मैनालीले शुक्रबार, शनिबार र आइतबार तालिमको सहजीकरण गर्नु हुनेछ । तालिममा सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका २० जना जना पत्रकार महिलाको सहभागिता छ ।

प्रकाशित मिति : २०८१ चैत १ गते शुक्रबार