२०८२ असोज १६ , बिहीबार (2025 Oct 2, Thursday)
इतिहासमा भदाै ४ गते

कर्णाली प्रदेश स्थापना दिवस



सुर्खेत – तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रीपरिषदले २०७२ साउन २३ गते प्रदेश सिमाङ्कनमा देशभर ६ वटा प्रदेश रहने निर्णय गरेको थियो । जस अनुसार पूर्वको कोशी १, मधेश २, बागमती ३, गण्डकी ४, लुम्बिनी ५ र अहिलेको सुदूर र कर्णालीलाई ६ नंं. प्रदेश नामाकरण गरिएको थियो ।

सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम माथिल्लो कर्णालीका ५ जिल्ला कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा अनि अहिलेको सुदूरपश्चिमका ९ जिल्ला समेत १९ जिल्लाको ६ नं. प्रदेशको राजधानी डोटीमा रहने तत्कालिन सरकारले निर्णय गरेको थियो ।

त्यो प्रदेश सिमाङ्कनलाई अस्वीकार गर्दै साउन २४ गतेदेखि सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा समेत १० जिल्लाले छुट्टै प्रदेशको माग गरेर आन्दोलन थालिएको थियो । ‘खान्नौ रोटी, जान्नौ डोटी’ नारा लगाउँदै अलग्गै प्रदेशको माग राखिएको थियो ।

१२ दिनसम्म लगातकारको आन्दोलनमा ४ जनाको ज्यान गएको र धेरै धनजनको क्षति पुगेपछि २०७२ भदौ ४ गते तत्कालिन प्रधानमन्त्री कोइरालाको मन्त्रीपरिषदले साविककाे भेरी अञ्चलका तीन, कर्णाली अञ्चलका पाँचै र राप्ती अञ्चलका दुई समेत १० जिल्लाको ६ नं. प्रदेश र साविकको सेती तथा महाकाली अञ्चलका ९ जिल्लालाई ७ नं. प्रदेश रहने निर्णय गरेको थियो ।

२०७२ साउन २३ को निर्णय अनुसार १९ जिल्लाको प्रदेशलाई मध्ये आन्दोलनको बलमा १० जिल्ला अलग्गै प्रदेश दिएर सरकारले नं. ६ प्रदेश नामांकन गरिएको थियो । पूर्वी नेपालदेखि क्रमागत नाम बोलिंदा यसलाई ६ नं. प्रदेश र बाँकी रहेकाे अहिलेकाे सुदूरपश्चिमलाई ७ नं.  नामांकन गरिएको थियो ।

सरकारले निर्णय गर्दा १, २, ३ हुँदै ७ वटा प्रदेशहरुले पछि संघीय संरचना अनुसार २०७४ मा भएको संसदीय निर्वाचनपछि बनेका प्रदेशसभा संसदले नामाकरण गर्ने क्रममा सबै भन्दा पहिले यही ६ नं. प्रदेशले आफ्नो प्रदेशको नाम ‘कर्णाली प्रदेश’ राखेको थियो । आन्दोलनबाट पाएकोले यसलाई कान्छो प्रदेश प्रदेश पनि भनिन्छ ।

अहिलेको कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवर समेत ४ जनाले ज्यान गुमाउनुभएको थियो । सरकारले यी चारै जनालाई शहीद घोषणा गरेको छ ।

तत्कालिन सरकारले २०७२ भदौ ४ गते १० जिल्लाको यो प्रदेशलाई मान्यता दिएको स्मरणमा हरेक वर्ष भदौ ४ गते कर्णाली प्रदेश सरकारले स्थापना दिवस मनाउने गर्दछ । यो वर्ष पनि विभिन्न कार्यक्रम गरी ८ औं स्थापना दिवस मनाउन कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

भौतिक विकास, सामाजिक चेतना र विकासका धेरै आधारहरुमा कर्णाली प्रदेश अरु सबै प्रदेशहरु भन्दा कमजोर र पछौटेपन भए पनि मौलिक कलासँस्कृति, जडीबुटी, हावापानी र अग्र्यानिक कृषि उपजले कर्णालीलाई विशेष पहिचान दिएकाे छ ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार