दैलेख – नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेश कार्यालय सुर्खेतले आर्थिक तथ्यांकको महत्व, उपादेयता र तथांक संकलनका समस्या र समाधानका उपाय बारे वित्तीय निकाय, उत्पादन तथा सेवा क्षेत्र सम्वन्धी आर्थिक तथ्यांकका सरोकारवालासंग दैलेख सदरमुकाममा एक दिने गोष्ठी छलफल कार्यक्रम गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०८१०८२ अवधिमा संकलन गरेको तथ्यांकलाई विश्लेषण गर्दै दैलेखको अवस्थिति जानकारी गराउन नेपाल राष्ट्र बैंकका केन्द्रीय आर्थिक अनुसन्धान विभागका उपनिर्देशक सुदीप त्रिपाठीले सहजीकरण गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष अर्थवार्षिक र वार्षिक रुपमा गरी दुई पटक लिने गरेको कृषि विकास, सिचाईँके अवस्था, वन तथा वातावरण, कृषिको उत्पादकत्वको अवस्था, पूर्वाधार विकास, उद्योग तथा रोजगारीको अवस्था, सेवामूलक व्यवसाय, वैदेशिक रोजगारबाट हुने आमदानी र खर्चको अवस्था विश्लेषण गर्ने गरिएको बताइएको छ ।
तथ्यांक संकलनले बस्तुको बजारमूल्य निर्धारण, मौद्रिक तथ्यांक, शोधान्तर तथा वाह्य क्षेत्रको आर्थिक तथ्यांक अध्यावधिक गर्न सघाएको नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश कार्यालयका इञ्चार्ज उपनिर्देशक राजनप्रसाद रेग्मीले बताउनुभयो । उहाँले तथ्यांक संकलनमा सरकारी कार्यालय र उद्यमीहरु असहयोग पाएको दुखेसो पोख्नुभयो ।
संघीय संरचनापछि स्थानीय सरकार असहयोगी भएको र उद्यमी व्यवसायीहरुले करको भार बढ्ने भ्रम छरेको कारण तथ्यांक संकलनमा असहजता नेपाल राष्ट्र बैंकले भोग्दै आएको बताइएको छ । समष्टीगत अर्थतन्त्रलाई टेवा पुर्याउन, आर्थिक तथ्यांक अध्यावधिक गर्नेदेखि एकीकृत सूचना प्रणाली व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले तथ्यांक संकलन गर्ने गर्दछ ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले नेपाल राष्ट्र बैंकको सूचना संकलन प्रणाली र आर्थिक रणनीतिक योजना निर्माण सवालमा प्रकाश पार्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्