२०८३ जेठ ९ , शनिबार (2026 May 23, Saturday)

विशेषज्ञ स्वास्थ्य शिविर सुरु 



दैलेख – स्वास्थ्य सेवा कार्यालय दैलेखसँगको समन्वयमा गोरखा वेलफेयर ट्रष्ट काठमाडौँले दैलेख अस्पतालमा शनिबारदेखि पाँच दिने विशेषज्ञ स्वास्थ्य शिविर सुरु गरेको छ । शिविरमा कान नसुन्ने व्यक्तिहरूलाई श्रवण यन्त्र वितरण गरिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायता सामग्री प्रदान गरिने जनाइएको छ ।

दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रप्रताप सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले शिविरको उद्घाटन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा अधिकारीहरु, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाहरु र स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रमुख शाहीले दुर्गम जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन यस्ता शिविर प्रभावकारी हुने बताउनुभयो । उहाँले ग्रामीण भेगका धेरै नागरिक आर्थिक अभाव र पहुँचको समस्याका कारण विशेषज्ञ उपचारबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै शिविरले त्यस समस्यालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गोरखा वेलफेयर ट्रष्टका कार्यक्रम निर्देशक दिपकराज श्रेष्ठले  वेलफेयर ट्रष्टले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । विशेषगरी पूर्व ब्रिटिश गोर्खा सैनिक तथा तिनका परिवारसँगै दुर्गम समुदायका नागरिकको जीवनस्तर सुधारका लागि ट्रष्टले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

दैलेखमा सुरु गरिएको विशेषज्ञ स्वास्थ्य शिविरमार्फत कान, नाक, घाँटी, अपाङ्गता सहायता तथा अन्य स्वास्थ्य समस्या भएका नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गरिने श्रेष्ठले बताउनुभयो । शिविर अवधिभर विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सामग्री वितरण गर्ने जानकारी दिँदै स्थानीय नागरिकलाई सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।

विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार गर्न आउने विरामीकाे प्रकृति र उपचार पद्धति याेजना बनाउन दैलेखका ११ वटै स्थानीय तहमा स्क्यानिङ शिविर गरेर ४ सय १५ जनाकाे राेग पहिचान गरिएकाे थियाे । स्क्यानिङ शिविरबाट कानकाे सुनाइ सहायताका लागि २ सय २५ जनालाई श्रवण यन्त्र दिने, केही अपाङ्गता सहायता सामग्री र केहीलाई विशिष्ट अप्रेशनका लागि वेलफेयर ट्रष्टकै खर्चमा जिल्ला वाहिर लिई उपचार गरिने  बताइएकाे छ ।

स्क्यानिङ शिविरबाट राेग पहिचान भई विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार गर्न आउनपर्ने विरामीहरु मध्ये आठबीस, चामुण्डाबिन्द्रासैनी, ठाँटीकाँध र भैरबीका विरामीहरुलाई शनिबार, गुराँस, डुँगेश्वर, भगवतीमाई र दुल्लूका विरामी जति आइतबार अनि नाैमूले, महाबु र नारायणका स्थानीयहरुलाई साेमबार मात्र पहिले पहिचान भए अनुसारकाे सहायता सामग्री र उपचार सेवा दिइने दैलेख अस्पतालका इञ्चार्ज डा. मनाेज बिश्वकर्माले जानकारी दिनुभयाे ।

अघिल्लाे महिना गरिएकाे  स्क्यानिङ शिविरमा धेरैजसाे कान नसुन्ने र धेरै कम सुन्ने समस्याका विरामी धेरै भएकाे कारण गोरखा वेलफेयर ट्रष्टले आफ्नै खर्चमा बीर अस्पतालका कान राेग विशेज्ञ डा‍. जयेन्द्र प्रधानाङ्ग सहितका ४ जना कान राेग सम्वन्धी विशेषज्ञहरु तथा वेलफेयर ट्रष्टमै कार्यरत फिजियन डा. देउमान लिम्बु र डा. नवाङ्ग लामा समेतकाे स्वास्थ्यकर्मी ल्याएकाे छ ।

गोरखा वेलफेयर ट्रष्ट बेलायती नागरिकहरुकाे स्वेच्छिक सहयोगमा सञ्चालन हुँदै आएको सामाजिक संस्था हो । ट्रष्टले नेपालमा भूतपूर्व गोर्खा सैनिक, उनीहरुका परिवार तथा दुर्गम क्षेत्रका समुदायको स्वास्थ्य, शिक्षा, खानेपानी, जीविकोपार्जन र विपद् व्यवस्थापन क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालका विभिन्न जिल्लामा स्वास्थ्य शिविर, छात्रवृत्ति, सामुदायिक पूर्वाधार निर्माण तथा पुनःस्थापना क्षेत्रमा सहयोगका पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार