२०८३ जेठ ९ , शनिबार (2026 May 23, Saturday)

नारायण नगरपालिकामा राजस्व सेवा सुरु



दैलेख – आन्तरिक राजस्व कार्यालय सुर्खेतबाट प्रदान हुँदै आएको राजस्व सम्बन्धी सेवा अब नारायण नगरपालिकाका सेवाग्राहीले आफ्नै स्थानीय तहबाट प्राप्त गर्ने भएका छन् । शुक्रबार दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा नारायण नगरपालिका सेवा केन्द्र मार्फत सेवा सञ्चालनको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल तथा आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख चक्रप्रसाद ढुंगानाले राजस्व सम्बन्धी सेवा हस्तान्तरण सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले राजस्व सम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालनमा आउनु संघीय शासन प्रणाली कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न स्थानीय तह, प्रशासन र सम्बन्धित कार्यालयबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नारायण नगरपालिकाका मेयर लोमन शर्माले स्थानीय तहबाटै राजस्व सम्बन्धी सेवा सुरु हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताउनुभयो । उहाँले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले सेवा विकेन्द्रीकरणले नागरिकमैत्री प्रशासन प्रवद्र्धन हुने धारणा राख्नुभयो । उहाँले स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीको पहुँच विस्तार हुने बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख चक्रप्रसाद ढुंगानाले संघीयताको मर्म अनुसार सेवा स्थानीय तहसम्म विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा सेवाको गुणस्तर थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सुर्खेतका निर्देशक पदम भण्डारी, नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष अमर सुनार र दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले समेत मन्तव्य राख्दै स्थानीय तहबाट राजस्व सेवा सञ्चालन हुनु सकारात्मक कदम भएको बताउनुभयो ।

नारायण नगरपालिका राजस्व सेवा केन्द्रबाट स्थायी लेखा नम्बर (प्यान) दर्ता, नविकरण, कर विवरण बुझाउने लगायत आन्तरिक राजस्व सम्बन्धी विभिन्न सेवा प्रदान गरिने जनाइएको छ । सेवा केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सामान्य राजस्व सेवा लिनका लागि सुर्खेत पुग्नुपर्ने बाध्यता हटेकाे छ ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतले आवश्यक उपकरण र प्राविधिक प्रशिक्षण दिएपछि नारायण नगरपालिका राजस्व सेवा  केन्द्र सुरु गरिएकाे हाे । कर्णाली प्रदेशमा पालिकाबाटै राजस्व सेवा  केन्द्र अघिल्लाे साता सुरु गर्ने  कालिकाेटकाे रासकाेट नगरपालिका पहिलाे र दाेश्राेमा दैलेखकाे नारायण नगरपालिका भएकाे छ ।

स्थानीय स्तरमै राजस्व सेवा उपलब्ध गराउन सक्ने कानूनी व्यवस्था अनुसार सेवा क्षेत्रका आन्तरिक राजस्व कार्यालयस‌ंगकाे समन्वयमा पालिकामा राजस्व सम्बन्धी सेवा हस्तान्तरण गर्न थालिएकाे हाे । तर त्यसरी सेवा दिने पालिका स्तरीय राजस्व सेवा केन्द्रले आफ्नाे पालिका क्षेत्र बाहिरका सेवाग्राहीलाई मात्र सेवा दिने क्षेत्राधिकार रहन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार