
काठमाणडाैं – यूएसएआईडी नामको अमेरिकी विदेशी सहायता संस्था भविष्य अनिश्चित बनेको छ । यसको वेबसाइट अनलाइनबाट हटाइएको र सय बढी कर्मचारीलाई बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्प डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार अर्बपति व्यापारी इलन मस्कले युएसएआईडीबारे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यूएसएआईडीलाई ’अपराधिक संगठन’ भनेका छन् र यसको खारेज गरिनुपर्ने लेखेका छन् ।
यूएसएआईडीको वेबसाइट बन्द गरिएको छ, कर्मचारीहरूलाई बिदामा पठाइएको छ । मस्कले नेतृत्व गरेको संस्था डज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न खोजेको आरोपमा दुई सुरक्षा कर्मचारीहरूलाई पनि विदामा पठाइएको छ ।
यूएसएआईडीका करिब ३० कर्मचारीहरूले इमेलमा पहुँच गुमाएका छन् । एक सय भन्दा बढी कर्मचारीहरूलाई विदामा छाडिएको बताइएको छ । डेमोक्र्याटिक सिनेटर क्रिस कून्सले यो कामको तिखो आलोचना गरेको रोयटर्सले जनाएको छ ।
यूएसएआईडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो । याे संस्थाका विश्वभर लगभग १० हजार भन्दा बढी कर्मचारी छन् । पूर्व राष्ट्रपति जो बाइडेनले यूएसएआईडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषद्मा राखेका थिए ।
यूएसएआईडीले विपन्न देशहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी, आर्थिक विकासमा काम गर्छ । नेपालमा विगत ७० वर्षदेखि कार्यरत यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर अर्थात करिब ८८ अर्ब नेपाली रुपैयाँ सहायता दिने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्