दैलेख – भैरवी गाउँपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोइरालागाउँको कक्षा तह घटाउने निर्णय गरेपछि स्थानीय अभिभावक र विद्यालय परिवारले आपत्ति जनाएका छन् । गाउँपालिकाको शिक्षा समितिको बैठकले साविकमा कक्षा ८ काे अनुमतिलाई कक्षा ५ मा सीमित गर्ने निर्णय गरेपछि विवाद चुलिएको हो।
मंगलबार विद्यालयमा बसेको अभिभावक भेलाले गाउँपालिकाको उक्त निर्णय अव्यावहारिक रहेको ठहर गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा, भैरवीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । भौगोलिक विकटता, विद्यार्थी संख्या र गरिब तथा जेहेन्दार विद्यार्थीको पहुँचलाई बेवास्ता नगर्न मागमा उल्लेख छ ।
आम अभिभावकको भावना विपरित कक्षा घटाउने प्रक्रिया अगाडि बढाइएमा विद्यालय परिवार र समुदाय कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिइएको छ । गाउँपालिका शिक्षा समितिको यो कदमलाई “अव्यावहारिक” भन्दै तुरुन्त सच्याउन आग्रह गरेका छन् ।
गाउँपालिकाले शिक्षक संख्या कटाैती र शैक्षिक गुणस्तर सुधार गर्न १४ वटा विद्यालयका कक्षा घटाइएकाे र ८ वटा विद्यालय नजिक विद्यालयमा गाभिएकाे जनाएकाे छ । विद्यालयका भाैतिक संरचना बनेका तर विद्यालयमा बालबालिका घटेकाे कारण गाउँपालिकाले कठाेर निर्णय निमित्त प्रशासकीय अधिकृत प्रितम थापाले बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्