दैलेख – कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले धार्मिक क्रियाकलापले मानिसलाई सतमार्गमा जुट्न प्रेरित गर्ने बताउनुभएको छ । नारायण मन्दिर पुनर्निर्माण तथा सर्वाङ्गीण विकास समितिले दैलेख सदरमुकाममा आजदेखि सुरु गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान धार्मिक महामहोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
सभापति खत्रीले धार्मिक क्रियाकलापहरुले हरेक मानिसलाई असल काममा उत्प्रेरित गर्ने भएकोले बेलाबेला यस्ता क्रियाकलाप गरिरहन नारायण मन्दिर पुनर्निर्माण तथा सर्वाङ्गीण विकास समितिलाई आग्रह गर्नुभयो । त्यसबखत नारायण नगरपालिकाका मेयर लोमन शर्माले यस्ता क्रियाकलापमा बालबालिकाको सहभागिता बढाउन सके नैतिक शिक्षा, वैधिक विधिको ज्ञान बढ्ने बताउनुभयो ।
नारायण मन्दिर पुनर्निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष बिष्ण गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । टुडिखेल खुलामञ्चमा भएको कार्यक्रम अघि कलस यात्राले नगर परिक्रमा गरेको थियो । भागवत भूषण आचार्य नारायण शरणले प्रवचन दिनुहुने कार्यक्रम छ । हरेक दिन विहान मन्त्र साधना, दिउँसो दार्शनिक प्रवद्धन र साँझ श्रृंगारिक महाआरती हुने जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्