दैलेख – गएको वैशाख १३ गतेदेखि १९ गतेसम्म चलेको पञ्चकोशी धार्मिक पर्यटन मेलामा धार्मिक आस्था भएका दाताहरुले स्वेच्छिक रुपमा १५ लाख ८५ हजार ६६३ रुपैंयाँ जम्मा भएको जानकारी दिइएको छ । मेला आयोजक पञ्चकोशी क्षेत्र विकास संस्था नाभिस्थानले शनिबार नाभिस्थानमै गरेको पत्रकार सम्मेलनमा आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
मेलामा ३६६ जना दाताहरुले बैंक मार्फत ७ लाख ७८ हजार ३१ रुपैंयाँ र मेलास्थानमै नगद प्राप्त भएको ८ लाख ७ हजार ६३२ समेत गरी कुल १५ लाख ८५ हजार ६६३ रुपैंयाँ संकलन भएको संस्थाका कोषाध्यक्ष गगनबहादुर खड्काले दिनुभएको जानकारी दिनुभयो । उहाँले २० जना कबोल गरेको १ लाख ५८ हजार ९५८ प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नविनकुमार योगीले मेलाको समग्र व्यवस्थापन सन्तोषजनक रूपमा सम्पन्न भएको बताउँदै सबै पक्षको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यातायातको असहजताले पत्रकारहरु कम सहभागी भएका र अपेक्षा गरे जस्तो मेला अवधिको प्रचारप्रसार कम भएको दुखेसो पोख्नुभयो ।
उपाध्यक्ष सुनिता शाही खड्काले स्थानीय समुदाय, दातृ निकाय तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले मेला सफल भएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सचिव बखत नेपालीले मेलाले धार्मिक आस्थासँगै स्थानीय पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
सांस्कृतिक दृष्टिले पनि परम्परागत भजन, पूजाआजा, रीतिरिवाज तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुगेको छ। यसले नयाँ पुस्तामा आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्ने भावना विकाससंगै मेलाले दैलेखकाे धार्मिक महिमाकाे प्रचार भएकाे नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले बताउनुभयाे ।
पञ्चकोशी धार्मिक पर्यटन मेलाले स्थानीय क्षेत्रमा बहुआयामिक सकारात्मक प्रभाव पारेको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परालाई केन्द्रमा राखिएको यस मेलाले आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटकको आगमन बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको व्याख्या छ । आयव्यय जानकारी गराएपछि पत्रकारहरुले प्रश्न गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्