काठमाण्डौं – जेन्जी अभियन्ता भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडासचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौंले उनलाई काठमाडौंकोबाट पक्राउ गरेको हो । सरकारी सेवा लिने सन्दर्भमा सरकारी कर्मचारीलाई धम्क्याएकाे आरोपमा उनी पक्राउ परेका हुन् ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाण्डौंको शंखमुल बस्दै आएका २२ वर्षीय खड्काले आफू प्रधानमन्त्री कार्यालयबाट बोलिरहेको भन्दै दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएका थिए । यो विषयमा वडासचिव भण्डरीले जिल्ला प्रहरी कार्यालय दैलेखमा शनिबार उजुरी गर्नुभएको थियो ।
उजुरी बारे जिल्ला प्रहरी परिसर काठमाण्डौंसंग समन्वय गरी आरोपित खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुुभयो । सरकारी कर्मचारीलाई धम्क्याउने खड्का विरुद्ध दैलेख पु¥याउने वा काठमाण्डाैंमै मुद्दा चलाउने बारे छलफल भइरहेको डीएसपी बरालले बताउनुभयाे ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले सरकारी निकायको नाम प्रयोग गरेर सर्वसाधारणलाई धम्क्याउने गतिविधि स्वीकार्य नहुने बताउँदै दोषीमाथि कानुनअनुसार कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ती जारी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्