२०८३ वैशाख २१ , सोमबार (2026 May 4, Monday)

किशोरीहरुलाई प्रजनन् स्वास्थ्य अभिमुखीकरण



दैलेख – स्वस्थ प्रजनन् स्वास्थ्य, सुरक्षित यौन जीवन, सुरक्षित मातृत्व, यौनजन्य घटनाबाट सुरक्षित रहने सीप र अनपेक्षित अवस्थामा रहन गएको गर्भपतन विषयमा किशोरीहरुका लागि आइतबार दैलेख सदरसुकाममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

महिला कानून विकास मञ्च (एलडब्लुएलडी) काठमाणडाैंको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. मनोज बिश्वकर्माले महिला माथि हुने हिंसाले स्वास्थ्यमा परेको असर, लैंगिक विभेद र असमानता न्यूनीकरण गर्न किशोरीहरुले अग्रसता लिन आग्रह गर्नुभयो ।

पाका पुराना महिलाहरुले घर र समाजको इज्जत, प्रतिष्ठा जोगाउन हिंसा सहेर बसिरहेका उल्लेख गर्दै किशोरीहरुले विभेद र असमानता विरुद्ध सचेतना अभियान थाल्न सके महिला माथि हुने शोषण अन्त्य हुने उहाँले बताउनुभयो । विभेद हटे महिलाहरुको स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत सञ्चालन गरेका किशोरकिशोरी लक्षित प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम, विवाहपछि परिवार योजना, शिशु तथा मातृत्व सुरक्षा कार्यक्रमले पु¥याएका सेवा, ती सेवाहरुको उपलब्धता र प्रभावकारिता बारे डा. बिश्वकर्माले सबिस्तार बताउनुभएको थियो ।

त्यसबखत कार्यक्रमका सहजकर्ता नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारले नेपालको संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य अधिकार, त्यसको प्रत्याभूती गर्न संसदले ल्याएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले गरेको व्यवस्था बारे चर्चा गर्नुभयो ।

सुरक्षित गर्भपतन प्रणालीबाट लिने सेवाको जानकारीसंगै जोरजुलुम वा अनधिकृत रुपमा गर्भपतन गराउनेहरुलाई हुने कानूनी सजाय, त्यसका लागि कानूनी प्रक्रियाका बारेमा उहाँले सविस्तार जानकारी दिनुभयो । एलडब्लुएलडीले दिने निशुल्क कानूनी सहायताको विषयमा समेत जानकारी दिनुभयो ।

अभिमुखीकरणकै क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रहरी जवान रुमा आचार्यले महिला तथा बालबालिका माथि हुने गरेका सामाजिक हिंसा र रोकथामका लागि समुदायका अगुवाहरुसंगको सहकार्यता र प्रहरीकाे सचेतना अभियान बारे प्रकाश पार्नुभएको थियो ।

मानव अधिकार रक्षक सञ्जाल दैलेखका संजोजक पत्रकार बिशाल सुनारले युवा पङ्ति परिवर्तनका वाहक भएकोले हरेक विकृति र बिसंति विरुद्ध बोल्नुपर्ने बताउनुभयो । किशोरी आत्मरक्षा अभियन्ता सुनिता सोनी र प्रतिमा थापाले यौन हिंसाबाट जोगिन किशोरीहरुले अपनाउनुपर्ने सजगता बारे प्रकाश पार्नुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार