२०८३ असोज १९ , सोमबार (2026 Oct 6, Tuesday)

प्रहरीलाई मानव अधिकार प्रशिक्षण



दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र प्रहरी जवानहरुका लागि नागरीक मैत्री सेवा तथा मानव अधिकार घुम्ती प्रशिक्षण ५ दिने तालिम दैलेख सदरमुकाम साेमबारदेखि सुरु गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्पराज रोकायले तालिमको उद्घाटन गर्नुभयो ।

प्रहरी निरीक्षक रोकायले नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीले मानव अधिकार, मर्यादा, संवेदनशीलता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्दै कानूनी प्रक्रियाको पालना तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उहाँले सहभागीलाई निर्देशन दिनुभयो ।

तालिम संयोजक प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तूत गर्नुभएपछि प्रहरी निरीक्षक रोकायले तालिम उद्घाटन गर्नुभएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका खटिएका प्रहरी कर्मचारीले तालिमबाट प्राप्त गर्ने ज्ञान र सीपले कार्यक्षेत्रमा व्यवहारिक रूपमा सहजता हुनेमा आफू बिश्वस्त रहेकाे उहाँले बताउनुभयाे ।

तालिममा नागरिकमैत्री प्रहरी सेवा, मानव अधिकारको संरक्षण, सेवाग्राहीसँगको व्यवहार, कानूनी तथा व्यावहारिक पक्षलगायत विषयमा प्रशिक्षण दिइने जनाइएको छ । तालिमले प्रहरी कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै नागरिकको विश्वास कायम गर्न र प्रहरी सेवाप्रतिको सकारात्मक धारणा अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार