२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

प्रअ र लेखापाललाई लेखा तालिम



दैलेख – शिक्षा विकास तथा समन्वय इकाई दैलेखले जिल्लाका ११ वटा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालहरुका लागि दुई दिने अनलाइन प्रणालीबाट लेखा श्रेस्ता व्यवस्थित गर्न विद्यालय लेखा प्रणाली तालिम दिएको छ । असार र १९ गते उक्त तालिम चलेकाे थियाे ।

चामुण्डाबिन्द्रासैनी, भैरबी, महाबु, भगवतीमाई, गुराँस गाउँपालिका र नारायण नगरपालिका क्षेत्रका २२ जना प्रधानाध्यापक र लेखापालहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतनबहादुर बिष्टले जानकारी दिनुभयो ।

शिक्षा विभागले देशभरकै सबै विद्यालयहरुका लागि तयार पारेको विद्यालय लेखा प्रणाली (स्कूल एकाउण्ट सिष्टम) बारे नजिकका विद्यालयहरुमा समेत सिकाउने गरी तालिममा सहभागी छनौट गरिएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखकी प्रास पारसाकुमारी सिंहले बताउनुभयो ।

विद्यालय लेखा प्रणाली (स्कूल एकाउण्ट सिष्टम)को प्रयोग गरी आमदानी र खर्चको हिसाव दुरूस्त राख्ने प्रणाली अन्तरगत पेश्की माग्ने, खर्चको बिलभरपाई राख्ने प्रक्रिया, विद्यालयमा प्रयोग हुने बस्तु वा सेवा लिंदा सरकारको सार्वजनिक खरिद प्रणालीको प्रयोग विधि विषयमा तालि दिइएको थियो ।

आधारभूत विद्यालय शिक्षा सुदृढीकरण परियोजनाका जिल्ला संयोजक दिपकराज रावत र सीता जनसहयाेग मावि अवलपराजुलका लेखापाल भक्तबहादुर थापाले तालिममा सहजीरण गर्नुभएको थियो । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख रमेशबहादुर मल्लले तालिमले विद्यालयको सुशासन पद्धतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार