२०८२ असार १२ , बिहीबार (2025 Jun 26, Thursday)

यती एयरले सुर्खेत र धनगढीमा उडान विस्तार गर्दै



सुर्खेत – नेपालमा विश्वासिलो सेवा दिंदै आएकाे वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार एकै दिन सुर्खेत र धनगढी विमानस्थलमा सफलता पुर्वक परीक्षण उडान सम्पन्न गरेको यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निकट भविष्यमा दैनिक उडान गर्न परीक्षण उडान गरिएकाे उहाँले बताउनुभयाे ।

यती एअरलाइन्सको ९ एन-एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलता पुर्वक परीक्षण उडान गरेको हो । नेपालगन्ज बिमानस्थलबाट उडेको यतीको विमान सुर्खेत बिमानस्थलमा आज दिउँसो सवा १२ वजे अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाउनु भएको थियाे । परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली साथमा रहेका थिए ।

गएकाे फागुन २० गते मंगलवारका दिन यती एअरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरिसकेको छ । यती एअरलाइन्सले निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाईन्सका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराज बिष्टले जानकारी दिनुभयो । बिष्टले यी विमानस्थलहरुमा हुने नियमित उडानसंगै यती एअरलाइन्सप्रति यात्रुहरुको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले यती एअरलाईन्समा एशियन लाईफ ईन्स्योरेन्सको प्रवेश संगै आक्रामक बजार नीति लिएको र उडान सुरक्षाप्रति जिम्मेवार पुर्वक अघि बढेको कारण यात्रुहरुको विश्वास बढेकोले एअरलाइन्स पुरानै लयमा फर्किसकेको दावी गर्नु भएको छ । उहाँ अनुसार यतीमा यात्रुहरुको अकुपेन्सी ८५-९० प्रतिशत सम्म रहेको छ ।

यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर,  जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमान मार्फत सेवा बिस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार