२०८२ असोज १६ , बिहीबार (2025 Oct 2, Thursday)

सरकारी कार्यालयहरु सुशासन र मीतव्ययी बनाइँदै



दैलेख – जिल्लाका सरकारी कार्यालयहरुको सेवा र दैनिक क्रियाकलापहरु सुशासन र खर्चमा मीतव्ययी बनाइने भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा असोज ५ गते आइतबार बसेको कार्यालय प्रमुखहरुको नियमित बैठकले दैलेखका सबै सरकारी कार्यालयहरुले दशैं लगागतका चाडपर्व सुरक्षा सवालमा समेत तत्परता जनाउन औपचारिक निर्णय गरेको छ ।

कार्यालयका कामलाई नतिजामुखी र नागरिकमैत्री बनाउने, बैठक भत्ता नलिने, भ्रमण खर्च नियन्त्रण गर्न कार्ययोजना र प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने, सरकारी सवारी साधन व्यक्तिगत काम प्रयोग नगर्ने, कार्यालयका उपकरण तथा औजार मर्मत सम्हार गरी चलाउने र अति आवश्यकमा मात्र खरिद गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेशविक्रम शाहले बताउनुभयो ।

सरकारी कार्यालयहरुको आमदानी र खर्च मासिक फाँटवारी सार्वजनिक गर्ने, सेवामा समन्वयकारी बनाउने, कार्यालयका क्रियाकलापहरु पारदर्शी बनाउन सूचना प्रवाहलाई सहज बनाउने, आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरिने, सेवालाई एकद्वार प्रणाली वा फ्लोचार्ट प्रणाली अपनाउने, सेवा प्रवाहमा सेवाग्राहीलाई हैरानी, ढिलासुस्ती, घुस लिने जस्ता दण्डनीय कार्य कसैले नगर्न सचेत गराइएको छ ।

दशैं बजारलाई सहज बनाउन कार्यालय प्रमुख बैठकले स्थानीय तहहरुले ग्रामीण सडक मर्मत सुधार गर्ने, बजार अनुगमन गरी कालोबजारी, कृतिम अभाव र गणस्तरहीन बस्तु बेचेको फेला परे व्यापारीलाई कारवाही गर्ने, चाडपर्व सुरक्षा र विपद व्यवस्थापनमा पूर्वतयारीमा राख्नेसंगै चाडपर्व विदापछि कार्यालय खुल्दा सबै कर्मचारी हाजिर हुने निर्णय भएको सूचना अधिकारी शाहले जानकारी दिनुभयो ।

निजामती सेवा दिवश २०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको मूल्याङ्कनमा दैलेख जिल्लास्थित स्थानीय तहका कार्यालयहरु मध्येबाट उत्कृष्ट प्रमुख प्रशासकीय अधिकृतको रुपमा चयन गरिएका तर त्यसबेला समय अभावले अनुपस्थित दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिकल बिकलाई नगद पुरस्कार सहित सम्मानपत्र दैलेखका प्रमुख जिल्ला अधिकारी गैह्रेले हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार