दैलेख – आज मार्च २४ तारिक अर्थात विश्व क्षयरोग दिवस । हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नारा सहित स्वास्थ्य सेवा कार्यालय दैलेखले विश्व क्षयरोग दिवस मनाएको छ । स्वास्थ्य सेवा कार्यालयका चिकित्सक सहित दैलेख टेक्निकल स्कूलका विद्यार्थी र नागरिक समाजका अगुवाहरु समेतको सहभागितामा सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । स्वास्थ्य सेवा कार्यालयदेखि सुरु भएको प्रभातफेरी नगरपरिक्रमापछि देवकोटाचोकमा कोणसभा भएको थियो ।
कोणसभा बोल्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक डा. मनोज बिश्वकर्माले क्षयरोग प्रभावित व्यक्तिको पहिचान, एकीकृत सेवा उपलब्धता, त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुदृढीकरण र क्षयरोग प्रभावित व्यक्तिलाई आत्मविश्वास बढाउन तथा उपचारमा प्रेरित गर्न परिवार र समाजको सहयोग विषयमा प्रकाश पार्नुभएको थियो । रोगको लक्षण देखिँदा उपचार गर्न आउने र औषधि नियमित खाए पूर्ण रुपमा निको हुने डा. बिश्वकर्माले बताउनुभयो ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्याङ्क छ । नेपाल वर्षेनी झण्डै २५ हजारले क्षयरोगको उपचार गराइरहेका हुन्छन् । दैलेखमा नियमित औषधि खाइरहेका दिर्घ रोगीहरुको संख्या झण्डै ८१ जना रहेको स्वास्थ्य सेवा कार्यालयका क्षयरोग शाखा प्रमुख नविन ढकालले जानकारी दिनुभयो ।
तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्