२०८३ असार १८ , बिहीबार (2026 Jul 2, Thursday)

कर्णालीमा डुबेको फोर्स गाडीको उद्धारमा कठिनाइ



दैलेख – कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनाग्रस्त भएको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा पूर्ण रूपमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले नदीको जलसतह बढेका कारण गाडी पूर्ण रूपमा डुबेको र बाहिरबाट देखिन नसक्दा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताउनुभयो ।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट एक जना पुरुषलाई भिरमा अचेत अवस्थामा उद्धार गरिएको छ । उहाँको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना दैलेखस्थित गुल्म तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका सुरक्षाकर्मी संयुक्त रूपमा परिचालित छन् ।

प्रहरीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जयराज सापकोटाको नेतृत्वमा गोताखोरसहितको टोली सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

प्रारम्भिक जानकारीअनुसार गाडी सुर्खेत बसपार्कबाट बिहान ८ बजे पाँच जना सवार लिएर छुटेको भनिए पनि दुर्घटनाका बेला गाडीमा कति जना थिए भन्ने यकिन हुन सकेको छैन ।

प्रहरीले घटनास्थलको भौगोलिक अवस्था जटिल रहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने जनाएको छ । घटनाको खोज तथा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार