काठमाण्डौं – गएकाे २४ घण्टामा देशभर बाढी, पहिरो, डुबान, सर्पदंशलगायत ६२ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा सर्पदंशबाट २ जनाको मृत्यु भएको छ भने पहिरोबाट दुई जना घाइते भएका छन् ।
विपद्का कारण झण्डै १२ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा ६ वटा चौपायाको पनि क्षति भएको छ । पछिल्लो २४ घण्टामा ११ वटा सडक अवरुद्ध भएका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयाे ।
प्राधिकरणको दैनिक विपद् बुलेटिनअनुसार १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, ८ वटा आगलागी, ७ वटा अविरल वर्षा, ५ वटा जनावर आक्रमण र ३ वटा बाढीका घटना भएका छन् । निरन्तर वर्षासँगै बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भन्दै प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरिएकाे प्रवक्ता महतले बताउनुभयाे ।
नेपाल प्रहरीले पृथ्वी, मेची, अरनिको, दिक्तेल–भोजपुर मध्यपहाडी सडक, बीपी राजमार्ग र कान्ति लोकपथका केही खण्डमा अवरोध रहेको जनाएको छ । चितवन र धादिङस्थित पृथ्वी राजमार्गको अवरोध भने हटाइएको छ । प्रहरीले वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्