२०८२ असोज १६ , बिहीबार (2025 Oct 2, Thursday)

दैलेखमा लैंगिक हिंसा विरुद्ध अभियान चलाइँदै



चार वर्ष अघि हस्तना नेपाली

दैलेख – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्न गएकी अधिकारकर्मी सरकारी जागिरे श्रीमानबाट निर्मम कुटाई खाएको घटना, खाना मीठो भएन भनेर जिउमा आगो लगाइदिएर जखम बनाई दिएकाे घटना त कहिल्यै यौन अंगमा प्लाष्टिकको पाइप घुसाइदिएर तीन हप्ता अस्पतालको बास बस्नु परेका महिला माथि बर्बरतापूर्ण हिंसाको घटनाले दैलेख पटक पटक चर्चामा आयो ।

दुई साता अघि १३ वर्षकी बालिकालाई २४–२५ वर्षका दुई जना हिंसक व्यभिचारीले बलात्कार गरेको घटनाले ‘दैलेखमा यस्तो घटना भयो’ भनेर प्रचार पाएको छ । साउन महिनामा मात्र प्रहरीमा दर्ता भएका ५ वटा बलात्कार घटनामा ४ जना बालिका परेका र ती ४ मध्ये ३ जना १४–१६ वर्ष उमेरका बालिका बलात्कारपछि बच्चा जन्माई सकेर कानूनी उपचार आएका छन् ।

बच्चा पाएर मुद्दा प्रक्रियामा आएका ती बालिकाहरु आफ्नै उमेर समूहका केटा साथीबाट बलात्कृत भएका हुन् । ‘विवाह गर्छु’ भनेर शारीरिक सम्बन्ध राखेका तर पछि चाहिँ जात नमिलेको, कसैले आर्थिक हैसियत दाजेर वा यस्तै अन्य वाहनामा पन्छिएको कारण बच्चा जन्माई सकेर बलात्कार मुद्दामा आएका छन् । उमेर नपुगेको कारण विवाह दर्ता हुदैन, लैजान पनि अस्वीकार गरेपछि पीडितले कानूनी उपचार खोजेका हुन् ।

४ वर्ष अघि छुट्टाछुट्टै घटनामा एकै वर्षमा १५–१७ वर्ष उमेरका ४ जना छोरी आफैलाई जन्मदिने बाबुबाट बलात्कृत भएका मुद्दा प्रहरी हुदै अदालत पुगे । पछिल्लो समय किशोरीहरु बलात्कारको घटना लुकाएर बच्चा पाउने क्रम चलेको छ । अघिल्ला २ वर्ष अवधिमा यस्ता घटना ५ वटा आएका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखले जनाएको छ ।

श्रृंखलावद्ध घटनाहरु भइरहेको कारण याैनजन्य घटना र महिला माथि हुने हिंसा रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय दैलेखले भदौ महिनाभर लैंगिक हिंसा रोकथाम अभियान सञ्चालन गर्न लागेको छ । ग्रामीण बस्तीसम्म समुदायमा सचेतना आवश्यक परेकोले अभियान सञ्चालन गर्न लागेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

सबै क्षेत्रको सहयोगमा जिल्लामा लैंगिक हिंसा रोकथाममा सहकार्य बढाउन आवश्यक रहेको भन्दै लैंगिक हिंसा रोकथाम सवालमा काम गरिरहेका नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाप्रमुखहरुको सहभागितामा जिल्ला प्रहरी कार्यालयले सोमबार दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले अभियानको  योजना सुनाउनुभयो ।

बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, छाउपडी प्रथा विरुद्ध समुदाय स्तरसम्म दैलेख प्रहरीले सञ्चालन गर्न लागेको एक महिना लामो सचेतना अभियान स्थानीय तहका कार्यक्रम र गैरसरकारी संस्थाहरुको परियोजना क्रियाकलापहरु सहकार्यमा लैंगिक हिंसा रोकथाम कार्यक्रमहरु प्रभावकारी बनाउन अभियान चलाउन आवश्यक रहेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी बरालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले प्रहरीले सञ्चालन गर्ने अपराध रोकथामका निम्ति सचेतना अभियानमा नागरिक समाजको सहयोग अझैं बढाउनुपर्ने बताउनुभयो । गैसस महासंघका कोषाध्यक्ष भरतराज अधिकारीले सिजनल रोजगारीले पनि अपराध संख्या बढेको टिप्पणी गर्नुभयो ।

आठबीस नगरपालिकाकीका नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बन्दना लम्सालले छिमेकी जिल्ला अछामको प्रभावले आठबीसमा छाउपडी प्रथा हट्न नसकेको समस्या दर्शाउनुभयो । ठाँटीकाँध गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बिकले जिल्लाकै विकट मानिने ठाँटीकाँधमा बालविवाह रोकथाम प्रयासहरु सफल हुन नसकेका स्वीकार गर्नुभयो ।

त्यसबखत डुंगेश्वर गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तेजु रेग्मीले विवाहको उमेर २० वर्ष पु¥याएको कारण पनि बालविवाहको संख्या बढेको भन्ने बहस पनि भइरहेको उल्लेख गर्दै अहिले विवाहको उमेर २० वर्षमा रहँदासम्म यसैलाई कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयाे ।

कार्यक्रममा मनोविमर्शकर्ताद्वय सीएमसी नेपालका र टीपीओ नेपालकी उर्मिला बीसीले हिंसा पीडित महिलाहरुको स्वास्थ्य उपचार, कानूनी सहायता जस्तै गोपनीयता कायम राख्दै पीडित समस्या सुन्ने र आत्मबल दिने कुरामा समुदायको सहयोग चाहिएको बताउनुभयो ।

सोसेक नेपालको बाल हेल्पलाइनकी कार्यक्रम संयोजक रमा श्रेष्ठले पीडितको न्यायमा जुट्दा धाक–धम्की आउने गरेको सुनाउनुभयो । उजुरी प्रक्रियाको क्रममा प्रहरीमा पुगेका, स्वास्थ्य उपचारका लागि दैलेख अस्पतालको ओसीएमसीमा आएका र जोखिम परेकाहरुलाई आवश्यकता परेमा अल्पकालिन आवास र कानूनी सहायता दिएको विषयमा त्यस्तो धाक–धम्की आएको र आफूहरु आत्मविश्वासका साथ सेवा दिइरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष यज्ञराज थापा, एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाही, महिला सशक्तिकरण मञ्चका अध्यक्ष सविना बिक, आवाज संस्थाकी मनोसामाजिक कार्यकर्ता सम्झना केसी, साेसेक नेपालका बाल संरक्षण अधिकृत प्रभाकुमार बिक, प्रहरी निरीक्षकद्वय कृष्ण खड्का र सत्यनाराण चौधरीले जिल्लामा लैगिंक हिंसा समस्या र समाधान उपाय बारे आआफ्नो धारणा राख्नुभएको थियो ।

नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुले लैंगिक हिंसा रोकथाम सवालमा गरेका क्रियाकलाप र यो आर्थिक वर्षमा गर्ने कार्यक्रमहरुको कार्यजना बारे जानकारी दिदै प्रहरीको अभियानलाई सघाउने बचन दिनुभयो ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार