२०८३ असार २१ , आइतबार (2026 Jul 5, Sunday)

जलवायु उत्थानशीलता योजना कार्यान्वयनमा जोड



दैलेख – दैलेखका महाबु र डुंगेश्वर गाउँपालिकामा सञ्चालित स्थानीय विपद् तथा जलवायु उत्थानशीलता योजनाको प्रगति समीक्षा तथा सिकाइ आदानप्रदान तथा भावी याेजना बारे कार्यशाला गोष्ठी भएको छ ।

युरोपेली संघ (ईयू) र फिनल्यान्ड सरकारको सहयोग तथा कोवाटर इन्टरनेशनलको प्राविधिक सहजीकरणमा महाबु र डुंगेश्वर गाउँपालिकाकाे संयुक्त आयोजनामा दैलेख सदरमुकाममा  दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जलवायु परिवर्तन र विपद्का जोखिम दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै स्थानीय सरकारले योजना निर्माणसँगै प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

त्यसबखत डुंगेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपानेले जलवायु परिवर्तनको असर गाउँस्तरसम्म स्पष्ट देखिन थालेकाले स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यशालामा परियोजना सहायता सल्लाहकार विष्णु पोखरेलले स्थानीय विपद् तथा जलवायु उत्थानशीलता योजनाको अवधारणा, स्थानीय तहमा यसको कार्यान्वयनको अवस्था, प्राप्त उपलब्धि, देखिएका चुनौती र आगामी कार्यदिशाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ उज्ज्वल शर्माले जलवायु परिवर्तनले वन, पानी, जमिन र जैविक विविधतिमा पारेको प्रभाव, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, जलाधार संरक्षण, वातावरणमैत्री विकास तथा विपद् जोखिम न्यूनीकरणका उपायबारे प्रस्तती राख्नुभएको थियो ।

कार्यशालामा दैलेखका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले स्थानीय तहमा योजना कार्यान्वयनका अनुभव, सिकाइ र चुनौती साझा गर्दै विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार