दैलेख – शैक्षिक गुणस्तर सुधार र व्यवहारिक ज्ञान प्रवद्र्धन गर्न दैलेखका शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाई दैलेखले आयोजना गरेको प्रधानाध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रमका शैक्षिक समस्या सुल्झाउन १५ बुदे प्रतिवद्धता घोषणा गरेका हुन् । जिल्ला शिक्षा समितिका अध्यक्ष जिसस प्रमुख नमराज शाही समेतका अधिकारी उपस्थित दैलेखका ११ पालिकाका प्रतिनिधित्व गर्दै ४२ विद्यालयका प्रधानाध्यापकहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
विहान प्राथना हुँदै विद्यार्थीलाई सकारात्मक सन्देश प्रवाह गर्ने, विद्यालय पोशाक अनिवार्य गर्ने, मोवाइलको दुरुपयोग रोक्ने, सिकाई उपलब्ध मापन र अभिलेखीकरण गर्ने, उत्कृष्ठहरुलाई पुरस्कृत गर्ने, शिक्षकहरुलाई पाठयोजना अनिवार्य गराउने, शिक्षकले स्वमूल्यांकनदेखि एक अर्को शिक्षकले कक्षा अवलोकन र पृष्ठपोषण दिने, शिक्षण क्रियाकलापमा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्ने, शिशण सुधार योजना बनाई एसईईको नतिजा सुधार गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
प्रधानाध्यापकहरुले स्थानीय सरकारको सहयोगमा विपद जोखिम न्यूनीकरण, खाजा खुवाइरहेका कक्षा तहमा पोषणयुक्त खाजाको प्रवन्ध, विद्यालयमा कम्प्यूटर र सूचना प्रविधिको प्रवन्ध गर्ने कुरा पनि प्रधानाध्यापकहरुले प्रतिवद्धता जनाएका छन् । त्यसबखत दैलेलखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले विद्यालयमा मावि तहका बालबालिकालाई लागू औषध दुव्र्यसनीबाट जोगाउन, बालविवाह रोकथाम र साइबर अपराधबाट जोगिने विषयमा शिक्षकहरुको रेखदेखको आवश्यकता विषयमा ध्यानाकर्षण गराउनुभयो ।
दैलेख प्रमुख जिल्ला अधिकारी आनन्द सारु, शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख रमेश मल्ल, प्रास रतन बिष्ट लगायतले जिल्लाका शैक्षिक अवस्था र सरोकारवालाले शैक्षिक सुधार योजनामा सहकार्य विषयमा बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले कर्णाली प्रदेशमै सबै भन्दा कमजोर एसईई नतिजा आएको दैलेख जिल्लामा शैक्षिक सुधारको योजना अनुसार काम गरेर गुणस्तर गर्न शिक्षकहरुको तत्परता जरुरी रहेको बताउनुभयो ।
पछिल्लो समय विद्यालयका भौतिक संरचनाहरु सुधार भएका तर एसईई नतिजालाई आधार मानेर शैक्षिक गुतस्तर खस्केको भनी दैलेखका सामुदायिक विद्यालयहरुको आलोचना भइरहेको बेला प्रधानाध्यापकहरुको अन्तरक्रिया विद्यालयको शैक्षिक गुणस्तर सुधारको चासो दिइएको हो । दैलेखका सरकारी अर्थात सामुदायिक विद्यालयहरु विद्यार्थी घटेपछि ५० भन्दा बढी विद्यालयहरु गाभिएपछि चाहिँ आधारभूत तह चलेका ३५९ र मावि तह पढाइ हुने ११० समेत ४६९ वटा विद्यायलय कायम रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्