२०८३ कात्तिक १३ , बिहीबार (2026 Oct 29, Thursday)

शान्ति सम्झौताका १८ वर्षः जगाएको आशा



काठमाण्डाैं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले जनाएको छ ।

१० वर्ष लामो सशस्त्र युद्धको अन्त्य गर्न नेकपा माओवादी र सरकारबीच भएको बिस्तृत शान्ति सम्झौता भएको १८ औँ वर्षको अवसरमा बुधबार इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले एक विज्ञप्ति जारी गरी १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको उल्लेख गर्नुभएको छ ।

‘मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्दै त्यसमा संलग्न दोषीहरूलाई कारबाही गरिनु सङ्क्रमणकालीन न्याय व्यवस्था गर्न नेपाल सरकारले गठन गरेको सिफारिस समितितर्फ केन्द्रित भएको छ । दलीय भागबण्डा भन्दामाथि उठी शान्ति प्रकृयालाई आत्मसात गर्न सक्ने पदाधिकारी नियुक्त हुनु जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उचित प्रक्रियाका आधारमा पीडकको अभियोजन, पीडितलाई सम्मानजनक ढङ्गले क्षतिपूर्ति तथा परिपूरण, पीडितको आत्मसम्मानमा चोट नपुग्ने गरी उनीहरूको सहमतिमा क्षमादान प्रक्रियालाई सङ्क्रमणकालीन न्यायिक प्रकृयाले समेट्न सके नेपालको शान्ति प्रकृयाले सार्थकता पाउने उल्लेख छ ।

यसैगरी, विज्ञप्तिमा विगतबाट पाठ सिक्दै अगाडिको बाटो तय गर्न सकिएन भने न्याय र परिपूरणको सवाल ज्युँका त्युँ रहने खतरा विद्यमान रहेको छ । इन्सेकले यस प्रकृयाको निगरानी र खबरदारीको शुरुआत गरिसकेको उल्लेख छ । भविष्य यस्ता द्वन्द्व पैदा नहुेने सुनिश्चित होस् पीडितरुको भनाई छ ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार