२०८३ भदौ १२ , शुक्रबार (2026 Aug 29, Saturday)

रसुवा बाढी : ७०६ को उद्धार, ५४७ शव फेला



काठमाण्डौं – रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित ४० विदेशी नागरिकसहित ७०६ जनाको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ । नेपाली सेनाले टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उद्धार गरिएकामध्ये भारतका २९, जर्मनीका चार, चीनका चार, कोरियाका दुई र ओमानका एक जना नागरिक छन् । बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४ हजार ५०० भन्दा धेरै जनशक्ति परिचालन गरी खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको छ ।

बाढीमा परी ज्यान गुमाएकामध्ये दिउँसो ३ बजेसम्म ५४७ जनाको शव फेला परेको छ । रसुवादेखि नवलपरासी पश्चिमसम्मका नदी क्षेत्रमा शव भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हाे ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार