काठमाडौं – महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बिहान भृकुटीमण्डपको छड्के अनुगमन गर्नुभएको छ । उहाँले बजार, प्रदर्शनी क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय तथा अन्य संरचनाको अवस्थाबारे जानकारी लिनुभयो ।
मन्त्री बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न समग्र अध्ययन अघि बढाउन निर्देशन दिनुभयो । बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गतामैत्री पूर्वाधार र सार्वजनिक सेवाका संरचनालाई प्राथमिकतामा राख्न उहाँले सुझाव दिनुभयो ।
भृकुटीमण्डपमा विगतमा भएका अध्ययन, योजना तथा डीपीआरको समेत समीक्षा गरी आवश्यकता र सम्भावनाका आधारमा विकासको कार्यदिशा तय गर्नुपर्ने मन्त्री बादीले बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षणसँगै प्रभावकारी उपयोग र पारदर्शी व्यवस्थापनमार्फत नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्