रोल्पा – बाढीपहिरोले सडक अवरुद्ध भएपछि रोल्पाको थबाङ गाउँपालिका–५ उवा गाउँमा प्रभावित परिवारलाई वितरण गर्ने राहत सामग्री पुर्याउन सकस भएकाे छ । उवा गाउँ पुग्ने मुख्य सडक विभिन्न ठाउँमा पहिरोले भत्किएपछि राहत सामग्री फुलीवन, पोबाङ र माबाङमै रोकिएका छन् ।
सडक खुलाउने अवस्था तत्काल नरहेको र निरन्तर वर्षाका कारण सडक सञ्चालनको प्रयाससमेत जोखिमपूर्ण बनेको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले बताउनुभयो । गाउँपालिकाले भने भरियामार्फत राहत सामग्री प्रभावित बस्तीमा पुर्याएर वितरण गरिरहेको छ ।
प्रभावित परिवारका लागि तत्काल आवश्यक ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न तथा लत्ताकपडालगायतका सामग्री वितरण गरिएको अध्यक्ष बुढा मगरले बताउनुभयो । अन्य संघसंस्था तथा निकायले सडक अवरुद्ध भएकै कारण राहत सामग्री प्रभावितसम्म पुर्याउन नसकेको उहाँको भनाइ छ ।
पहिरो तथा ढुंगा खस्ने जोखिमका कारण कतिपय ठाउँमा पैदल बाटोसमेत प्रयोग गर्न कठिन भएको छ । केही संघसंस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन् । सडकसँगै सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ ।
साउन २७ गते थबाङ गाउँपालिका–५ उवामा बाढीपहिरो र साउन २८ गते राति सुनछहरी गाउँपालिका–२ भित्रीगामका विभिन्न ठाउँमा पहिरोले जनधनको क्षति गरेको थियो । पहिरो प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्