दैलेख – सहायक प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठीको नेतृत्वमा सुरक्षा अधिकारीहरुको टोलीले डुंगेश्वर गाउँपालिका क्षेत्रका ४ वटा मतदान केन्द्रको अनुगमन गरेको छ । मतदानस्थलको घेरबार, खानेपानी, शौचालयको अवस्था, मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको बसाई प्रवन्ध समेतको अनुगमन टोलीले जानकारी लिएको थियो ।
डुंगेश्वर गाउँपालिका वडा नं. ६ को जीवनज्योती आधारभूत विद्यालय आग्रज्यामिरे, वडा नं. ६ कै सरस्वती मावि ओइरी, वडा नं. ३ को हनेटास्थित वडा कार्यालय र वडा नं. ४ को सीता जनसहयोग मावि अवलपराजुलमा मतदानस्थलमा मतदाताहरु प्रवेश गर्ने, वाहिरिने लेआउट र उलब्ध फर्निचरका अवस्था बारे टोली अनुगमन गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी ठकुराठीले डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने र वडा नं. १ का वडाध्यक्ष श्याम रानासंग भेटी मतदान स्थलसम्म पुग्न सडकहरुको मर्मत सुधार गर्न र मतदान स्थलमा आवश्यक भौतिक पूर्वाधारमा सघाउन आग्रह गर्नुभयो । उपाध्यक्ष न्याैपाने र वडाध्यक्ष रानाले व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बचन दिनुभयो ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी ठकुराठीको साथमा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीबलका डीएसपी मातृका पौडेल, राष्ट्रिय अनुसन्धानका कार्यालय प्रमुख सुन्दरमणी पोखरेल, नेपाली सेनाको कालिदत्त गुल्म दैलेखका उपसेनानी टेकबहादुर महतारा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार हुनुहुन्थ्यो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा १३९ स्थानमा २०८ वटा मतदान केन्द्र तोकिएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. १ मा ७३ मतदान केन्द र १०४ मतदान केन्द्र छन् भने क्षेत्र नं. २ मा ६६ मतदान केन्द र १०४ मतदान केन्द्र छन् । सुरक्षा हिसावले ४६ वटा स्थान अति सम्वेदनशील, ६८ सम्वेदनशील र २५ वटा चाहिँ सामान्यमा वर्गीकरण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्