नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । टोखा–छहरे सडकखण्डअन्तर्गत थानाभञ्ज्याङमा रोकिराखेको बस आज बिहान करिब ९ बजे अचानक गुडेर अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको थियो ।
ठक्करपछि बस र भ्यान दुवै सडकबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताउनुभयो । दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । तीमध्ये दुई जनालाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् ।









प्रतिक्रिया दिनुहोस्