२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

गन्तव्य पुगेपछि गाडीले च्यापेर यात्रुकाे मृत्यू



मृतक प्रकाश बुढा

दैलेख – गन्तव्य पुगेको गाडी साइड लगाउन लाग्दा पल्टिएको गाडीले च्यापेर हिजाे साेमबार राति एक जना यात्रुको मृत्यू भएको छ । सुर्खेतबाट चामुण्डाचाल्ने चौतारा पुगेको कर्णाली प्रदेश ०२–००१ ख ९०६ नम्बरको एसएमएल मिनीबसले च्यापेर यात्रुको मृत्यू भएको हो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ आयरपाटा सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको उक्त दुर्घटनामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । गाडीमा २३ जना यात्रु रहेकामा सुरुमा निस्कन खोजेको बेला च्यापिएको बताइएको छ ।

दुर्घटना लगतै बीरेन्द्रनगर नगरपालिका–२ भुरेलीका २८ वर्षीय चालक राजेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मृतक प्रकाश सुर्खेत–ठाँटीकाँध फोर्स गाडी चलाउने चालक भएको बताएको छ । पाँच महिना अघि उहाँको आमाको निधन भएको थियो । यो वर्ष दशैं नभए पनि घरमा बुबा, श्रीमति र छोरीलाई भेट्न प्रकाश पुग्न लाग्नुभएको थियो ।

 

दुर्घटना रोकथाम गर्न माओवादीको आग्रह

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्ने भन्ने ठाउँमा एसएमएल मिनीबसले च्यापेर यात्रुको मृत्यू भएको घटना सन्दर्भलाई उल्लेख गर्दै दुर्घटना रोकथाममा पहलकदम चाल्न नेकपा माओवादी केन्द्र दैलेखले दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई भेटेर ध्यानार्षकण पत्र बुझाएको छ ।

दशैंको बेला यात्रुको चाप बढेसंगै यातायात व्यवसायीहरूले यात्रुहरुबाट महंगो भाडा असुल्ने गरेका, गाडीमा कोचेर यात्रुहरु यात्रा गराउँदा दुर्घटनाको जोखिम भएको औंल्याउदै सडक मर्मत सुधार गरी यात्रुहरुका लागि सहज यातायात गर्न सक्ने प्रबन्ध गर्न ध्यानाकर्षणपत्रमा सुझाव दिइएको छ ।

ध्यानार्षणपत्र बुझाउन नेकपा माओवादी केन्द्र दैलेखका इञ्चार्ज प्रेम कटुवाल र जिल्ला संयोजक गोपाल रिजालले प्रमुख जिल्ला अधिकारीसंग भेटघाट गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी जैसीले सुझाव अनुसार सार्वजनिक यातायात सहज बनाइने बचन दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार