२०८३ साउन २९ , शुक्रबार (2026 Aug 14, Friday)

 बाढीले झोलुङ्गे पुल बगायो, चार घरमा क्षति



जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटमा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुनुका साथै वैकल्पिक बाटोसमेत नभएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे ।

वर्षाका कारण नलगाड–१० रोलीस्थित तासुघाट खोलामा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बगेको छ । पुल बगेपछि घटनास्थलमा प्रहरी टोली पुग्न नसकेको र क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पृथ्वीबहादुर बिकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर बगेको छ भने परिवारका नौ जना सुरक्षित स्थानमा बसेका छन् ।

सोही स्थानका खैते बिकको दुईतले घरमा १० जना, नरबहादुर बिकको तीनतले घरमा १० जना र हस्त बिकको दुई तले घरमा ८ जना परिवार थियाे । घटनापछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको नेतृत्वमा ४ जनाको टोली खटिए पनि झोलुङ्गे पुल बगेका कारण घटनास्थल पुग्न वैकल्पिक मार्गबाट जाँदै गरेकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार