२०८३ भदौ ३१ , बुधबार (2026 Sep 16, Wednesday)

डेकेन्द्र अनुकरणीय समाजसेवी : सभापति खत्री



दैलेख  – कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा अनुकरणीय समाजसेवाका नमूना भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दैलेखले बुधबार सदरमुकाममा आयोजना गरेको २२औँ डेकेन्द्र स्मृति दिवसका अवसरमा आयोजित विचार विमर्श कार्यक्रममा सभापति खत्रीले थापाले समाजका लागि पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री कृष्णकुमार बीसीले द्वन्द्वका क्रममा आफू पनि विस्थापन र लुटपाटबाट पीडित भएको स्मरण गर्दै थापाको परिवारसहित द्वन्द्वपीडित परिवारलाई संयमित हुन आग्रह गर्नुभयो । पूर्वमन्त्री घनश्याम भण्डारीले माओवादी पक्षबाट आफ्ना बुबाको हत्या भएको घटना स्मरण गर्दै यस्ता स्मृति र छलफलले पीडित परिवारको पुरानो पीडा बल्झाउने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद उपाध्यायले डेकेन्द्र हत्या घटनाको न्याय निरुपण तथा उहाँका छोराछोरीको शिक्षादीक्षामा सहयोग गर्ने नागरिक समाजका संस्थाहरूको योगदानको प्रशंसा गर्नुभयो । महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले आफू जिल्ला अध्यक्ष रहेका बेला राष्ट्रिय मानव अधिकार आयोग, इन्सेकलगायत संस्थाको सहयोगमा डेकेन्द्रको शव उत्खननका लागि गरिएको संघर्षबारे चर्चा गर्नुभयो ।

सदरमुकामस्थित डेकेन्द्रको शालिकमा माल्यार्पण गरी जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको कार्यक्रममा शव उत्खननपछि परिवारलाई सांस्कृतिक अधिकारअनुसार दाहसंस्कार गर्न तथा न्यायिक प्रक्रियामा सहयोग गर्ने नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम र यातना पीडित सरोकार केन्द्र (सिभिक्ट)लाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत राजेन्द्र न्यौपाने, एडभोकेसी फोरमका बरिष्ठ कार्यक्रम संयोजक अधिवक्ता बसन्त गौतम, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमर सुनार र यातना पीडित सरोकार केन्द्र (सिभिक्ट)का तत्कालिन कार्यक्रम संयोजक सुरेश गौतमलाई कदरपत्र दिइएको थियो । उहाँले स्वर्गीय पत्रकार थापाको सामाजिक योगदान र न्यायिक प्रक्रियामा झेल्नु परेका कठिनाई सुनाउनुभएको थियो ।

न्यायिक अधिकारको पैरवी गरेको भन्दै इन्सेकलाई दिइएको कदरपत्र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमर सुनारले ग्रहण गर्नुभयो । कदरपत्र ग्रहणपछि इन्सेक जिल्ला प्रतिनिधि सुनारले सहकर्मी डेकेन्द्रराज थापाले बाँचुञ्जेल मानव अधिकार प्रवद्र्धनमा खेलेको भूमिकाकै कारण उहाँको न्याय र परिपूरणमा नागरिक समाज संस्थाहरुले सक्रियता जनाएका चर्चा गर्नुभयो ।

२२औँ डेकेन्द्र स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष पुस्कर थापालाई सम्मानपत्र सहित पाँच हजार एक रुपैंयाँकाे डेकेन्द्र स्मृति पुरस्कार प्रदान गरिएकाे छ । उहाँकाे कार्यकालमा थालिएकाे आन्दाेलनकाे दवावमा प्रहरीले २०६९ माघमा पत्रकार डेकेन्द्रराज थापाकाे हत्या घटनाका कसूरदारलाई पक्राउ गरी अनुसन्धान थालेपछि न्यायिक प्रक्रिया अगाडि बढेकाे भन्दै  महासंघका पूर्व जिल्ला अध्यक्ष पुस्कर थापालाई पुरस्कार दिइएकाे हाे ।

विचार विमर्श कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति बखत भण्डारी, काँग्रेस सभापति मणिराम रेग्मी, एमाले अधयक्ष सूर्यबहादुर शाही, नेकपाका जिल्ला संयोजक मायाराम अधिकारी, दैलेखका सहायक प्रजिअ महेन्द्र शाही, प्रेस चौतारीका कर्णाली प्रदेश इञ्चार्ज यामप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष यज्ञराज थापा, प्रेस यूनियनका सभापति अभिशेक अनुराग, प्रेस चौतारीका अध्यक्ष उदय अधिकारी, प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा डेकेन्द्रकी आमा गंगादेवी थापा र पत्नी लक्ष्मी थापासहित राजनीतिक दल, स्थानीय प्रशासन तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले पत्रकार थापाको हत्या घटनाका मुख्य कसूरदार बमबहादुर खड्का ‘मुक्ति’लाई अदालतले तोकेको जन्मकैदको फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष कमलप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार थापालाई २०६१ साल असार १२ गते अपहरण गरिएको थियो । अपहरण भएको करिब डेढ महिनापछि साउन २७ गते उहाँको हत्या भएको थियो । साउन ३२ गते तत्कालीन विद्रोही पक्षले विज्ञप्तिमार्फत हत्याको पुष्टि गरेपछि परिवार, पत्रकार तथा मानवअधिकारकर्मीले शव खोजी र न्यायका लागि निरन्तर दबाब दिएका थिए । ‘कि लास देऊ कि सास देऊ’ अभियानसहित विभिन्न चरणमा खोजी तथा दबाबका कार्यक्रम सञ्चालन भएका थिए ।

२०६५ साल साउन १६ गते विशेषज्ञ टोलीले फेला पारेको कंकाल परीक्षण गर्दा थापाकै भएको पुष्टि भएको थियो । सोही दिन धार्मिक परम्पराअनुसार उहाँको दाहसंस्कार गरिएको थियो । त्यसपछि २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको थियो भने २०६९ माघ ८ गते प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीकाे अनुसन्धान प्रतिवेदनका आधारमा २०६९ फागुनमा दैलेख जिल्ला अदालतमा कर्तव्यज्यान सम्बन्धी अभियोग दर्ता भएको थियो ।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पहिलो फैसला गर्दै पक्राउ परेका पाँच जनामध्ये निरकबहादुर घर्ती, हरिनाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष, लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि बमबहादुर खड्का ‘अरुण’ पक्राउ परेपछि मुद्दा पुनः अघि बढेको थियो ।

२०७८ मंसिर २६ गते भएको अन्तिम फैसलामा खड्का यो फैसलामा बमबहादुर खड्का ‘अरुण’का साथै मुख्य कसुरदार भगवतीमाई गाउँपालिका ६ का बमबहादुर खड्का‘मुक्ति’लाई २० वर्ष कैद फैसला सुनाइएको थियो । फैसलामा बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको थियो । त्यो फैसला अनुसार अदालतले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तबी लगत कट्टा गरेको थियो । मुख्य कसुरदार ‘मुक्ति’ अझैं फरार छन् ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार