२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

नयाँ मतदाता थप्न दैलेखमा दलहरु पनि जुट्ने



दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले खुलाएको नयाँ मतदाता नाम दर्ताको काममा दैलेखका दलहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा उमेर पुगेका नयाँ मतदाता थप्ने र निर्वाचनको वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले भन्नुभयो ‘नाम दर्तामा खुला भएको ३३ दिन अवधिमा एक सय ७० जनामा मात्र पुगेको छ, सोचे जस्तो नयाँ मतदाता आएका छैनन् । कात्तिक ३० गतेसम्म मात्र नयाँ मतदाता नाम दर्ता खुलेको, गाउँमा टाेली नजाने भएकाेले उमेर पुगेका नयाँ मतदाता थप्न दलहरुकाे सहभागिता चाहियाे ।’

नेपाली काँग्रेसका कर्णाली प्रदेश सदस्य निर्मला खड्काले संक्रमणकालिन राजनीतिक अवस्थामा घोषणा भएको निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारी निकायको तत्परता जरुरी रहेको बताउनुभयो । बैठकमा नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जिल्लामा राजनीतिक समझदारी राम्रो रहेकोले निर्वाचन मर्यादित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका कर्णाली केन्द्रीय सदस्य टेकबहादुर खाण, नेकपा एसका जिल्ला अध्यक्ष मायाराम अधिकारी, राप्रपा जिल्ला उपाध्यक्ष रणबहादुर सिंह, नेमकिपाका जिल्ला सदस्य रत्नबहादुर श्रेष्ठ लगायतको बैठकमा सहभागिता थियो । आसन्न निर्वाचन लगायत जिल्ला शान्ति सुरक्षा, सरकारी सेवाको प्रवाहमा देखिएको समस्याहरुमा पृष्ठपोषण दिई सुधार ल्याउने विषयमा पनि छलफल भएको थियो ।

राजनीतिक दलहरुले आयोजना गर्ने सभा, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम गर्दा स्वीकृती लिएर मात्र गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी प्रशासकीय अधिकृत गणेशविक्रम शाहले बताउनुभयो । कार्यक्रममा जनपथ प्रहरीका इञ्चार्ज डीएसपी गणेशबहादुर बराल र सशस्त्र डीएसपी मीनप्रसाद भट्टको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार