२०८३ साउन २४ , आइतबार (2026 Aug 9, Sunday)

ट्रकले किचेर मोटरसाइकल चालकको मृत्यू



दैलेख – तल्लो डुंगेश्वरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यू भएको छ । शनिबार कर्णाली राजमार्ग अन्तरगतको डुंगेश्वर पुलमा भएको दुर्घटनामा पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको गोदावरी नगरपालिका–८ का ३५ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज बरिष्ठ सई जयसिंह गुरुले जानकारी दिनुभयो ।

सुर्खेतबाट सिमेण्ट लिएर हुम्ला जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले र भे १४ प ६७१४ नम्बरको मोटरसाइकललाई पुलमै किचेको चालक रोकाय च्यापिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तल्लोडुंगेश्वर बीच बजारमै ब्रेक फेल भएको कारण पुल नजिकका दुई वटा घुम्ती पसलमा क्षति पु¥याई पुलमा दुल्लू साइडतिरबाट आएको मोटरसाइकललाई पुलमै किचेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृतक रोकाय क्षेत्री क्रिश्चियनका पाष्टर भएको तर उहाँ कहाँ जादै हुनुहुन्थ्यो ? भन्ने खुलेको छैन । दैलेख–दुल्लू क्षेत्रका क्रिश्चियन चर्चहरुमा धार्मिक प्रवचन दिदै आउनुभएको जानकारी जानकारी प्राप्त भएको छ ।

ट्रक चालक कालिकोटको नरहरिनाथ गाउँपालिका–१ का २२ वर्षीय खेमराज बिष्टलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटनाको प्रारम्भिक अनुसन्धान थालिसकिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार