काठमाण्डौं — आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक (बिल) लिने-दिने संस्कृतिको विकास गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको छ ।
विभागका अनुसार व्यापारिक कारोबारलाई पारदर्शी बनाउन, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्नका साथै उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कसले भाग लिन पाउँछ ?
विभागका अनुसार स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गरी नगद भुक्तानीमार्फत बिल लिएका सर्वसाधारण उपभोक्ताहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
योग्य उपभोक्ताहरूले साउन १ गतेदेखि पाएका खरिद बीजकको विवरण विभागको आधिकारिक पोर्टलमार्फत दर्ता गराउनुपर्नेछ। उपहार कार्यक्रममा सहभागी हुनका लागि उपभोक्ताहरूले https://prize.ird.gov.np लिंकमा गई आफ्नो खरिद बीजक सम्बन्धी विवरण तोकिएको समयभित्रै प्रविष्ट गराउनुपर्नेछ ।
डिजिटल भुक्तानी स्वतः समावेश
नगद भुक्तानी गर्नेहरूले प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्ने भए तापनि भुक्तानी सेवा प्रदायकमार्फत विद्युतीय भुक्तानी (क्यूआर कोड, मोबाइल बैंकिङ, कार्ड आदि) गरी साउन १ गतेदेखि गरिएको खरिद भने यस कार्यक्रममा स्वतः समावेश हुने विभागले जनाएको छ । यस्ता डिजिटल भुक्तानीका खरिद बिलको विवरण छुट्टै प्रविष्ट गरिरहनु नपर्नेँ पनि विभागले स्पष्ट पारेको छ ।









प्रतिक्रिया दिनुहोस्