२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

विकासका लागि प्रतिवद्धताको खाँचो : जोशी



दैलेख – कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले देश विकासका लागि सबै क्षेत्रको दृढ इच्छा शक्ति र प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ । जिल्ला भ्रमणको क्रममा दैलेख पुग्नुभएका उहाँले कार्यालय प्रमुखहरु र राजनीतिक दलहरुसंगको भेटघाटमा उक्त कुरा बनाउनुभएको हो ।

प्रदेश प्रमुख जाेेशीले भन्नुभयाे ‘पञ्चायत कालमा कर्णाली विकासमा ठगियाे, प्रजातान्त्रमा त्यस्तै अनि गणतन्त्र ल्याएपछि पनि तात्विक अन्तर आएन । त्यसैले कर्णालीकाे विकासका लागि सबैले प्रतिवद्धता जरुरी छ ।’

कर्णालीको विकासका लागि स्थानीय उत्पादनमा बढवा दिनुपर्ने र विनियोजित बजेटको उचित सदुपयोग गरी विकास कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । इतिहास र पुरातात्विक सम्पदाको धनी दैलेख जिल्लामा प्रर्यटन प्रवद्र्धनमा ध्यानदिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका साँसदद्वय दिक्पालकुमार शाही, सीताकुमारी राना, राष्ट्रियसभा साँसद सावित्री मल्ल, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, नारायण नगरपालिकाका मेयर लोमन शर्मा र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले दैलेखको विकासमा केन्द्रीय राजनीतिक प्रभाव समस्या औल्याउनुभएको थियो ।

कार्यक्रम दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा भएको थियो । कार्यालय प्रमुखहरु र राजनीतिक दलहरुसंगको भेटघाट अघि कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले दैलेखका प्रमुख धार्मिक तीर्थस्थल श्रीस्थान र नाभिस्थानसंगै पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा पुगी जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार