काठमाण्डाैं – अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जित्ने कञ्चनपुर पुनर्वासका हेमराज जोशी र १ लाख रुपैयाँको उपहार जित्ने रूपन्देहीकी सपना खरेलको नाम सार्वजनिक गरेको छ । जोशीले साउन ७ गते कञ्चनपुरको शिवकृष्ण जेनरल स्टोर्सबाट २५० रुपैयाँको सामान अनलाइन बैंकिङमार्फत क्यूआर स्क्यान गरी खरिद गरेका थिए ।
बम्पर उपहार जितेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले फोन गरी जोशीलाई बधाई दिनुभएको थियो । त्यस्तै, खरेलले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन् । अर्थमन्त्री वाग्लेले दुवै विजेतालाई फोन गरी बधाई दिँदै आन्तरिक राजस्व विभागले पुरस्कारसम्बन्धी थप जानकारीका लागि सम्पर्क गर्ने बताउनुभयो ।
सरकारले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रममा अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः सहभागी हुने व्यवस्था गरेको छ । नगदमा खरिद गर्नेले भने सक्कल भ्याट वा प्यान बिल आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्नेछ । सरकारले प्रत्येक दिन एक जनालाई १ लाख र प्रत्येक १५ दिनमा दुई जनालाई १०–१० लाख रुपैयाँको उपहार दिने व्यवस्था गरेको छ ।









प्रतिक्रिया दिनुहोस्